असार सकिनै लाग्दा २७ प्रतिशत मात्रै धान रोपाइ
काठमाडौं । असार सकिनै लाग्दा देशभर २७ प्रतिशत मात्रै धान रोपाइ भएको छ । कृषि तथा पुशपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार २१ गतेसम्ममा २६.७१ प्रतिशत मात्रै धान रोपाइ भएको पाएको हो ।
कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार गरेको धान रोपाइमा गत वर्षको तुलनामा कम रोपाइ भएको हो । गत वर्षको असार २१ गतेसम्ममा देशभर ४० प्रतिशत रोपाइ भएको थियो । तर, यो वर्षको सोही अवधिमा मुलुकभर करिब २७ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले विशेषगरि मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइ कमी देखिएको बताए ।
मनसुन शुरु हुने क्रमसंगै रोपाइ हुने क्षेत्रफल बढ्दो क्रममा रहेको छ । श्रावण १५ सम्म सामान्य हिसावले ती प्रदेशमा रोपाइ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरुमा जस्तै लगभग शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान रहेको छ ।
देशभर १३ लाख ५७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुँदै आएको छ । हालसम्ममा ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइ भएको छ ।
मन्त्रालयअनुसार कोशी प्रदेशको २ लाख ७५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुन्छ । असार २१ गतेसम्ममा १ लाख ८९१ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । जसमा हालसम्ममा ३६.६७ प्रतिशत मात्रै धान रोपाइ भएको छ ।
त्यसैगरी, मधेस प्रदेशमा ३ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुँदै आएकोमा हालसम्ममा ३३ हजार ७७३ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । जुन ९.५३ प्रतिशत हो ।
बगमती प्रदेशमा ३०.७८ प्रतिशत रोपाइ भएको छ । बागमतीमा १ लाख १३ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुनेमा हालसम्ममा ३४ हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइ भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा १७.५५ प्रतिशत, लुम्बिनी प्रदेशमा २४.४३ प्रतिशत, कर्णाली प्रदेशमा ४५.०२ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत रोपाइ भएको छ ।
गत वर्षको सोही अवधिमा कोशी प्रदेशमा ३१.९६ प्रतिशत, मधेस प्रदेशमा ३० प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६२.३२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५३ प्रतिशत, कर्णाली प्रदेशमा ५६.३१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७२.७० प्रतिशत रोपाइ भएको थियो ।