धुलिखेलमा सञ्चालनमा आयो दुसित थानी रिसोर्ट, २४० करोड लगानी, एक रातको २ लाखसम्म पर्ने



काठमाडौं । काभ्रेको धुलिखेलमा तारे रिसोर्ट ‘दुसित थानी हिमालय रिसोर्ट’ सञ्चालनमा आएको छ । उक्त रिसोर्ट आजदेखि सफ्ट ओपनिङ गरी सञ्चालनमा ल्याइएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमालको स्थानीय साझ्दार रहेको रिसोर्ट २ अर्ब ४० करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन् । रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमा दुसित थानी समुहको ८५ प्रतिशत र स्थानीय साझेदार रमेश हमालको १५ प्रतिशत लगानी छ ।

रिसोर्टमा सेवाग्राहीले सामान्य कोठामा प्रतिदिन न्यूनतम् ३०० डलर खर्च गरी बस्न सक्ने जनाएको छ । त्यस्तै, रिसोर्टको ३ बेडरुमको १५०० डलर तोकेको स्थानीय साझेदार हमालले जानकारी दिए ।

‘आजदेखि हामीले रिसोर्टको सफ्ट ओपनिङ गरेका छौं, एक महिनाभित्र पूर्णरुपमा सञ्चालन गर्छौं,’ हमालले क्लिकमान्डुसँग भने, ‘रिसोर्टले नेपालमा महंगा पर्यटक भित्र्याउन सहयोग गर्नेमा हाम्रो विश्वास छ ।’

स्थानीय साझेदार रमेश हमाल

खासगरी, विदेशी पर्यटकहरुलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गरिएको उनले बताए । रिसोर्टबाट देखिने मनमोहक दृश्यले पर्यटकको मन लोभ्याउनले हमालले विश्वास व्यक्त गरे ।

एक दशकअघि नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको थाइल्यान्डको प्रसिद्ध ब्रान्ड दुसित थानी होटलको निर्माण सन् २०१८ देखि सुरु भएको थियो । सन् २०१८ को जुलाईदेखि निर्माण सुरु गरेको रिसोर्ट सन् २०२१ को जुलाईसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, कोभिड-१९ गर्दा तीब्र गतिमा काम हुन नसक्दा निर्माण अवधि लम्बिएको कम्पनीले जनाएको छ ।

ओमस्टोन एसिया क्यापिटल प्रालिमार्फत् सञ्चालनमा रहेको रिसोर्टको निर्माण अवधि लम्बिँदा लागत पनि बढी लागेको छ । कम्पनीले सुरुको तयार गरेको लागत मूल्याङ्कन प्रतिकोठा २ करोड ६० लाख रुपैयाँ खर्च हुने जनाएको थियो । तर, उक्त लागत मूल्य बढेर प्रतिकोठा ३ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

होटल निर्माणका लागि ओमस्टोन एसिया क्यापिटलले दुसित ओभरसिज कम्पनीसँग समझदारी गरी दुसित थानी ब्रान्डको होटल निर्माण गरेको हो ।

दुसित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालित छन् ।


क्लिकमान्डु