डेढ अर्ब लगानीमा आईएमई र एभरेष्ट ग्रुपको कागज उद्योग आउँदै



काठमाडौं । आईएमई ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा कागज उद्योग सञ्चालनमा आउने भएको छ । आईएमई र एभेरेष्ट ग्रुपले वार्षिक २१ हजार मेट्रिक टन कागज उत्पादन गर्ने भन्दै नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालि सञ्चालन ल्याउने भएको हो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले उच्च गुणस्तरको लेख्ने तथा प्रिन्टिङ पेपर उत्पादन गर्ने जनाएको छ । कम्पनीले उक्त उद्योग निर्माणका लागि १ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

वान क्यपिटल होल्डिङ प्रालिको ३५ प्रतिशत, सुलोचनादेबी सराफको २० प्रतिशत, सुनिलगोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीको १५/१५ प्रतिशत, सुमन पोख्रेल, गोविन्दकुमार सराफ र गौतम सराफको ५/५ प्रतिशत हिस्सा रहने छ । कम्पनीको अध्यक्षमा चन्द्रपप्रसाद ढकाल छन् ।

कम्पनीले उद्योग निर्माणका लागि ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन कर्जा र अल्पकालीन कर्जाका लागि १ अर्ब ३८ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १२ करोड ३१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २६ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले उद्योग निर्माणका लागि ८० प्रतिशत ऋण लिएको छ । बाँकी रकम भने शेयरहोल्डरबाट लगानी गर्नेछ । आईएमई ग्रुपको मुख्य लगानीकर्ता रहेको कम्पनी सन् २०२१ को अगस्टदेखि निर्माण सुरु गरिएको थियो । हालसम्ममा उद्योगको सिभिल संरचना निर्माण कार्य सकिएको छ । साथै, अधिकांश उपकरणहरु साइटमा पुग्ने क्रम जारी रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले कागज उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भने आयात गरी उत्पादन गर्नुपर्ने अवस्था छ । आयातित कच्चा पदार्थ र विदशी विनिमय दर घटबढले गर्दा कम्पनीको नाफामा असर पुग्ने जनाएको छ ।

आईएमई ग्रुपले लामो समयदेखि बैंकिङ, रेमिट्यान्स, बीमा, होटल, व्यापार, जलविद्युत र केबलकारको बिजनेसमा गर्दै आएको छ ।

एभरेष्ट ग्रुप पनि विगत तीन दशकदेखि पेपर मिल, वायर/मेटल, राइस मिल र औषधिको व्यापार गर्दै आएको छ ।


क्लिकमान्डु