अर्थतन्त्रलाई मन्दीबाट निकाल्न यस्तो मौद्रिक नीति चाहिन्छ



नेपाल राष्ट्र बैंक अबको केही दिनमा आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ। सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल र ६.५ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि कायम राख्ने लक्ष्य राखेको छ। मौद्रिक नीतिको कार्यदिशा सरकारका यिनै दुई लक्ष्य हासिलमा सघाउने गरी आउने आधारभूत अभ्यास हो।

तर, विगत वर्षका अनुभवका आधारमा राष्ट्र बैंकले मूल्यवृद्धिको लक्षित सीमामा २ प्रतिशतको लचकता दृष्टिगत गरी मौद्रिक नीति ल्याउनुपर्ने नेपाल उद्योग परिसंघको धारणा छ। साथै, ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पनि बजेटको सोचअनुसार औद्योगिक वातावरणमैत्री र उत्पादनशील क्षेत्र केन्द्रित भएर निजी क्षेत्रको कर्जा विस्तारमा मौद्रिक नीतिले जोड दिन आवश्यक छ।

पछिल्लो एक वर्षभन्दा लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिन थालेको समस्या यतिबेला सतहमा आएको छ। अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको छ। उपभोक्ताको क्रय क्षमता कमजोर भएको छ। समग्र बजार माग न्यून छ। उद्योग–व्यवसायको उधारो कारोबारको रकम उठ्न सकिरहेको छैन। यो परिस्थितिले उद्यमी-व्यवसायीको मनोबल खस्किएको छ। नयाँ लगानी गर्ने उत्साह छैन। सञ्चालनमा रहेका उद्योग–व्यवसाय बन्द हुँदै गएका छन्। नयाँ रोजगारी सिर्जना हुन सकेको छैन भने श्रमिकले रोजगारी गुमाउँदै गएका छन्। यस्तो अवस्थामा राष्ट्र बैंकले व्यवसाय बचाउँदै आर्थिक गतिविधि बढाउन र लक्षित आर्थिक वृद्धि हासिल गर्न बैंकिङ क्षेत्रलाई स्वस्थ राख्दै समग्र बजार माग उकास्ने नीति अवलम्बन गर्नुपर्ने खाँचो छ।मूल्यवृद्धिलाई लक्षित सीमामा राख्दै रोजगारी सिर्जना हुने वातावरण निर्माण गर्ने नीति तय गरिनुपर्ने आवश्यकता छ।

अर्थतन्त्रको यो परिस्थिति हल गर्न सघाउनुपर्ने चुनौतीमा रहेको केन्द्रीय बैंकलाई सोहीअनुरुपको मौद्रिक नीति ल्याउन अनुरोध गर्दै त्यसमा सक्दो सहयोग गर्न सिएनआई तयार छ। मौद्रिक उपकरणको प्रभावकारी कार्यान्वयनबाट उत्पादनमूलक क्षेत्रलाई राहत, तरलताको उपयुक्त व्यवस्थापन र मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको प्रभावकारी भूमिका रहनेमा सिएनआई ढुक्क छ। यसले आन्तरिक बजार चलायमान बनाइ समग्र माग विस्तार गर्ने र थप अवसर सिर्जना हुने विश्वास छ।

अघिल्लो मौद्रिक नीतिले १२.६ प्रतिशत कर्जा विस्तार हुने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म यस्तो कर्जा विस्तार ३.३ प्रतिशतमात्रै छ। यसले समग्र अर्थतन्त्र विस्तारलाई नै प्रभावित बनाएको छ। केन्द्रीय बैंकले यसलाई गम्भीररूपमा मनन गर्दै आगामी आर्थिक वर्षको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न सोहीअनुसार निजी क्षेत्रको कर्जा विस्तार गर्नुपर्छ। यसरी विस्तार भएको कर्जा उत्पादनशील क्षेत्रमा केन्द्रित गर्दै ब्याजदर एकल अंकभित्र सीमित गरिनुपर्ने सिएनआईको बुझाइ छ। यसले मुलुकको स्रोत, साधन, सीप उपयोग गरी आयात प्रतिस्थापन तथा रोजगारी वृद्धि भई अर्थतन्त्र मजबुत हुने विश्वास छ।

अर्थतन्त्रका आन्तरिक तथा विश्वअर्थतन्त्रमा हुने उतारचढावका वाह्य प्रभावजस्ता अनिश्चितताबाट अर्थतन्त्र सुरक्षित राख्न आवश्यक कदम चालिनुपर्छ। यिनै विषय समेटेर सिएनआईबाट आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा सम्बन्धमा थप सुझाव दिन चाहन्छौं।

विद्यमान सकारात्मक पक्ष यथावत राख्दै मौद्रिक नीतिले निम्र सैद्धान्तिक पक्ष अवलम्बन गर्नुपर्ने सिएनआईको धारणा छः

१, अर्थव्यवस्थालाई मन्दीबाट बाहिर ल्याउन राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने सिएनआईको धारणा छ। मूल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक छ भने समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो छ। यसमा राष्ट्र बैंक सजग भई उद्योग क्षेत्रमा जाने लगानीमा लचिलो हुने नीति कायम गर्नुपर्छ।

२, नेपालको आर्थिक गतिविधि विगतको तुलनामा धेरै परिवर्तन भइसकेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत परम्परागत बैंकिङ प्रणालीमा संरचनागत सुधार गर्दै विशिष्टिकृत तथा प्रतिस्पर्धात्मक बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक छ। यसका लागि धितोमा आधारित कर्जा प्रवाह गर्ने परिपाटीलाई परियोजनामा आधारित कर्जा प्रवाहतर्फ लैजान जरुरी छ। त्यसले नवप्रवर्तन तथा उद्यमशीलता विकास गरी स्वरोजगारी एवं रोजगारी सिर्जनामा योगदान पुग्ने छ।

(परिसंघ अध्यक्ष अग्रवालले बिहीबार राजधानीमा आयोजित आगामी मौद्रिक नीतिबारे भएको छलफलमा प्रस्तुत गरेको वक्तव्य)


क्लिकमान्डु