पहिरोले ३ वटा सडक पूर्णरुपमा अवरुद्ध, १३ सडक एकतर्फी रुपमा सञ्चालनमा



काठमाडौं । देशभरमा भइरहेको वर्षा र त्यसका कारण आइरहेको पहिरोका कारण तीन सडकहरु पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

सडक विभागको राजमार्गको अवस्था रिपोटिङ प्रणाली (एससिआरसी)मा बुधबार बिहान अद्यावधिक गरिएको विवरणकाअनुसार मेची राजमार्ग, तमोर करीडोर र कोशी राजमार्गअन्र्तगतको सडकखण्ड पूर्ण रुपमा अवरुद्ध अवस्थामा रहेका छन् ।

विभागकाअनुसार मेची रजमार्गअन्तर्गत पाँचथरको हेवाखोला क्षेत्रमा सडक अवरुद्ध रहेको छ । त्यस्तै, तमोर करीडोर राजमार्गअन्तर्गत पाँचथरको हेलाखोला क्षेत्रको माझीटारमा सडक अवरुद्ध रहेको छ ।

कोशी राजमार्गअन्तर्गत संखुवासभाको हाइटार क्षेत्रको सडकखण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । विभागकाअनुसार सो क्षेत्रको सडक विभिन्न उपकरणहरुको प्रयोग गरि सुचारु गर्ने प्रयास भइरहेको छ ।

एकतर्फी रुपमा सञ्चालनमा रहेका सडकहरुमा तानसेन–रिडी–कोरला राजामर्गअन्तर्गत म्याग्दीको गुइथेस्थित नौनीबगर सडकखण्ड, डुम्रे–बेशीशहर–चामे राजमार्गअन्तर्गत लमजुङस्थित खरखरे भिर सडकखण्ड, कोशी राजमार्गअन्तर्गत संखुवासभाको मुडेस्थित सडकखण्ड, कोशी राजमार्गकै संखुवासभास्थित दोभान सडकखण्ड, तानसेन–रिडी–कोरला राजमार्गअन्तर्गत म्याग्दीको काभ्रेस्थित सडकखण्ड, सोही राजमार्गको म्याग्दीस्थित बैसरी सडकखण्ड, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको हिउँदे खोला सडकखण्ड, कर्णाली राजमार्गअन्तर्गत दैलेखको दहिखोला सडकखण्ड, तानसेन–रिडी–कोरलाअन्तर्गत पाल्पाको ढुंगाखानी सडकखण्ड, सिद्धाथ राजमार्गअन्तर्गत पाल्पाको दोभानस्थित सडकखण्ड, सोही राजमार्गको पाल्पास्थित गौडेपुल क्षेत्रको सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा रहेको विभागले जनाएको छ ।

विभिन्न क्षेत्रमा अवरुद्ध रहेका सडकहरु वर्षा तथा पहिरोका कारण खुलाउनमा पनि समस्या रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु