ट्विटरलाई टक्कर दिने दाबीका साथ मेटाले ल्याउँदै ‘थ्रेड’



काठमाडौं । फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालको मूल कम्पनी मेटाले ट्विटरलाई टक्कर दिन सोही किसिमको नयाँ सामाजिम सञ्जाल ल्याउँदै छ । कम्पनीले ‘थ्रेड’ नामको ‘टेक्स्ट–बेस्ड कन्वर्सेसन’ एप ल्याउन लागेको हो ।

मेटाका मालिक मार्क जुकरबर्गले इन्स्टाग्रामकै ह्यान्डल (युजरनेम)बाट चलाउन सकिने गरी नयाँ एप ‘थ्रेड’ ल्याउन लागेका हुन् । ६ जुलाईबाट सार्वजनिक हुने यो एपले ट्विटरलाई टककर दिने बताइएको छ ।

विश्वव्यापी रुपमा सार्वजनिक हुनुअघि एप्पलको एप स्टोरमा देखिएको ‘थ्रेड’को विवरणमा उल्लेख भएअनुसार प्रयोगकताले आफ्नो इन्स्टाग्रामको एकाउन्टको प्रयोग गरेर यो एपलाई प्रयोग गर्न सक्नेछन् ।

प्रयोगकर्ताले र प्रयोगकर्तालाई इन्स्टाग्राममा फलो गर्नेहरुलाई थ्रेडमा पनि फलो गर्न सकिनेछ । यसबाहेक थ्रेडलाई लिएर अन्य विवरणहरु भने सार्वजनिक भएका छैनन् ।

गत जनवरीबाट मेटाले थ्रेडमा काम गरिरहेको थियो । एप्पलको एप स्टोरमा उल्लेख भएको विवरणअनुसार थ्रेडमा प्रयोगकर्ताहरुले चर्चामा रहेका विषयदेखि अन्य विषयहरुमा पनि चर्चा गर्न सक्नेछन् ।

कम्पनीले यसले प्रयोगकर्तालाई आफूलाई मन पर्ने क्रिएटरसँग नजिक बनाउने बताएको छ । एपमा आफ्नो विचार सम्प्रेषण गरेर प्रशंसक बटुल्न सकिनेछ ।

जुकरबर्गले ल्याउन लागेको नयाँ एपको विषयले ट्विटरका मालिक एलन मस्क र उनीबीच पनि अनौपचारिक रुपमा द्वन्द्वसमेत सुरु भएको देखिन्छ । जुकरबर्गले केही दिनअघि आफूले ट्विटरजस्तै एप ल्याउन लागेको बताएपछि यो विवाद सुरु भएको थियो ।

डेली मेलले ‘ट्विटरलाई अन्य गर्ने जुकरबर्गको मास्टर प्लान’ भन्दै रिपोर्ट सार्वजनिक गरेपछि त झन् दुई अर्बपतिका प्रशंसकले यो विषयलाई थप चर्चामा ल्याउँदै विवादलाई प्रस्रय दिइरहेका छन् ।


क्लिकमान्डु