ललिता निवास प्रकरणमा पक्राउ परेकालाई ७ दिन म्याद थप



काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध ७ दिन म्याद थप भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेकाहरुलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले अदालतले पक्राउ परेकाहरुविरुद्ध थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध संगठित कसुरमा रुपान्तरण गरेर म्याद थप गरिएको हो । अब प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने उनको भनाइ छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, सहित घमनकुमार कार्की र बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन गरी ९ जना अहिले सीआईबीको हिरासतमा छन् ।

ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले हत्याएको पाइएको प्रहरीले जनाएकव छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको जानकारी गराएको हो ।


क्लिकमान्डु