
काठमाडौं । विश्व राजनीति क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा दक्षिण एसियाली भूभाग रणनीतिक रूपमा संवेदनशील बन्दै गएको छ । यहाँ विद्यमान अनेकौं फ्ल्याश पोइन्टहरूमध्ये सिलिगुडी करिडोर पनि एक हो जसको परिधिमा पाँचवटा देशका सीमाहरू रहेका छन् ।
दक्षिण एसियाको सबभन्दा ठूलो देश भारतले त्यस करिडोरलाई सुरक्षा दृष्टिकोणका साथ चिकन्स नेक भन्ने गरेको छ । त्यसले मुख्यभूमि भारतलाई सिक्किम र पूर्वोत्तरका सातवटा राज्यहरूसँग जोडेको छ । त्यस संवेदनशील क्षेत्रको सुरक्षाका लागि भारतले भारी मात्रामा सैन्यीकरण थालेको छ ।
लामो समय पत्रकारितामा सक्रिय रहेर अहिले एक थिंकट्यांकमा आबद्ध भई अनुसन्धान गरिरहेका अखिलेश उपाध्यायले त्यसै वरिपरिको क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको दैनिक जीवनलाई बृहत्तर भूराजनीतिक भाष्यहरूसँग जोडेर हालसालै पुस्तक प्रकाशन गरेका छन् । त्यस क्षेत्र नजिकै नेपालको झापामा जन्मिएका उपाध्यायले आफ्नो व्यक्तिगत साथै स्थानीयहरूको अनुभवलाई मिसाएर ‘इन द मार्जिन्स अफ एम्पायर्स: ए हिस्ट्री अफ द चिकन्स नेक’ शीर्षकको पुस्तक तयार पारेका छन् ।
स्थलगत रिपोर्टिङ र मानवकेन्द्रित कथावाचन उपाध्यायको सबैभन्दा ठूलो सबलता हो । सीमावर्ती क्षेत्रको अध्ययनमा अपनाइने सैन्यकेन्द्रित दृष्टिकोणहरूबाट टाढा रहँदै उनले सिलिगुडी, कालिम्पोङ, जयगाउँ, ओलाङचुङगोला र नेपालका पूर्वी जिल्लाहरूमा बस्ने मानिसहरूको जीवन्त अनुभवहरूमा ध्यान केन्द्रित गरेका छन् ।
पुस्तकको प्रकाशक पेन्गुइन र्यान्डम हाउस इन्डियाले ब्लर्बमा उल्लेख गरेझैं राष्ट्रिय राजधानी र उच्च ओहोदाका मानिसले बनाएका रणनीतिक प्रतिस्पर्धाका भाष्यहरूको प्रभुत्व रहेको परम्परागत साम्राज्यवादी नजरलाई उल्टाउनु यस पुस्तकको सबैभन्दा स्वागतयोग्य योगदानहरूमध्ये एक हो ।
सीमावर्ती क्षेत्रका मानवीय कथाहरूको अभिलेखीकरण गर्दा उपाध्याय सबैभन्दा प्रभावकारी देखिन्छन् । ओलाङचुङगोला, सिक्किम र जयगाउँ जस्ता ठाउँका उनका यात्रा संस्मरणहरू पढ्दा स्थानीय बासिन्दाहरूको काठमाडौं वा नयाँ दिल्लीका राजनीतिक अभिजात वर्गसँग भन्दा सीमापारिका आफ्नै आत्मीय व्यक्तिहरूसँग धेरै समानता रहेको उपाध्याय तर्क गर्छन् ।
त्यस संवेदनशील क्षेत्रमा उपाध्यायले गरेका भ्रमणहरूले घतलाग्दा अवलोकनका अवसरहरू प्रदान गरेका छन् । स्थानीयहरूसँग उपाध्यायले गरेका जीवन्त र सहानुभूतिपूर्ण संवादले त्यहाँको व्यापार, बसाइसराइको प्रवृत्ति, पहिचान र स्मृतिहरूको सजीव चित्र प्रस्तुत गर्दछन् । त्यही क्षेत्रमा दलाई लामाका दाइ ग्यालो थोन्दुपमार्फत चिनियाँ कम्युनिस्ट पार्टीका विरुद्ध सशस्त्र तिब्बती लडाकुहरू परिचालन गरिएको (पछि मुस्ताङमा आधार बनाइएको) देखि त्यही क्षेत्र भएर भुटानका ल्होत्साम्पा नेपालीहरूलाई नेपालतर्फ निर्वासित गरिएको निकट इतिहासलाई लेखकले सन्दर्भ बनाएका छन् । हात्तीहरूको प्राचीन आवागमन मार्ग पनि त्यतै छ र देशका सीमारेखा कोरिँदा मानिससँगै हात्तीले पाएको दुःखलाई पनि उपाध्यायले मार्मिक वर्णन गरेका छन् ।
नेपाल, भुटान, सिक्किम, तिब्बत र भारतको पूर्वोत्तर समेटिएको पूर्वी हिमालय क्षेत्रलाई समग्रतामा हेरिनुपर्ने पुस्तकको मुख्य तर्क हो (पुस्तकमा बंगलादेशीहरूको चर्चा गरिएको छैन) । शताब्दीयौंदेखि चलिआएको सीमापार व्यापार, ज्ञानको आदानप्रदान र बसाइसराइले निर्माण गरेको तरल यथार्थलाई आधुनिक राष्ट्र–राज्यका सीमाहरूले कुण्ठित पार्ने प्रयास गरेको उपाध्याय तर्क गर्छन् । नेपाली भाषाको सञ्चारले त्यस क्षेत्रका मानिसलाई जोड्ने कडीको काम गरेको छ यद्यपि त्यसक्रममा अन्य भाषाहरू छायाँमा परेका छन् ।
सीमावर्ती क्षेत्रका मानवीय कथाहरूको अभिलेखीकरण गर्दा उपाध्याय सबैभन्दा प्रभावकारी देखिन्छन् । ओलाङचुङगोला, सिक्किम र जयगाउँ जस्ता ठाउँका उनका यात्रा संस्मरणहरू पढ्दा स्थानीय बासिन्दाहरूको काठमाडौं वा नयाँ दिल्लीका राजनीतिक अभिजात वर्गसँग भन्दा सीमापारिका आफ्नै आत्मीय व्यक्तिहरूसँग धेरै समानता रहेको उपाध्याय तर्क गर्छन् । वालुङ–ङाहरू (जसलाई नेपालको प्रशासनिक सहजताका लागि ‘शेर्पा’ भनेर गलत रूपमा चिनिन्छ) को बारेमा उपाध्यायले गरेको चर्चा आधुनिक राज्यहरूले आफ्नो सुविधाका लागि कसरी विशिष्ट पहिचानहरू मेट्छन् भन्ने कुराको मार्मिक आलोचना हो ।
तर, यही सबलता नै पुस्तकको मुख्य कमजोरीको स्रोत पनि हो ।
जीवन्त यथार्थमा यति धेरै ध्यान केन्द्रित गर्दा उपाध्यायले उठाएका भूराजनीतिक जटिलताका प्रश्नहरू ओझेलमा परेको अनुभव हुन्छ । उनले यस क्षेत्रलाई भारत र चीनबीच बिरालो र मुसाको खेलका रूपमा चित्रण गरेका छन् तर यी ‘साम्राज्य’ (कि सभ्यतागत राज्य ?) हरू बारेको उनको विश्लेषण प्रायः सतही नै छ । एसियाका दुई विशाल शक्तिहरूका नीतिगत परिवर्तनहरूको गहिरो अध्ययन भन्दा पनि पत्रकारिताको अवलोकनमा बढी भर परेकाले पुस्तकमा गहिराइ भेटिँदैन ।
त्यस्तै पुस्तकमा आंशिक इतिहास, आंशिक रिपोर्टिङ र आंशिक संस्मरणको उपयोग गरिएकाले सुसंगतिको अभाव अनुभव हुन्छ । यसले बहुमूल्य अन्तर्दृष्टि र स्थलगत यथार्थ प्रस्तुत गरे तापनि यसमा निहित कमजोरीहरूका कारण यो ऐतिहासिक विश्लेषण वा विद्वत्तापूर्ण कृतिका रूपमा प्रभावशाली लाग्दैन ।
त्यसो त, ‘सुरुमा प्राज्ञिक शैलीमा लेख्ने प्रयास गरे’ पनि आफ्नो सबलता ‘भुइँतहका मानिसहरूका कुरा सुन्नुमा रहेको अनुभव गरेको’ भनी उपाध्यायले स्वीकार गरेका छन् । यो विनम्रता स्वागतयोग्य भए पनि यसले पुस्तकलाई विश्लेषण भन्दा बढी कथानक वा संस्मरण जस्तो बनाएको छ । वास्तवमा भन्नुपर्दा, यो पुस्तक सुसंगत ऐतिहासिक शोध जस्तो भन्दा पनि लामा निबन्धहरूको संग्रह जस्तो लाग्छ । हुन त उपाध्यायले ‘एकनोलोजमेन्ट’मा त्यसलाई स्वीकार पनि गरेका छन् ।
‘हालैका घटनाहरूमा मात्र केन्द्रित हुने प्रवृत्ति’ (रिसेन्सी बायस) पुस्तकको कमजोर पक्ष हो । पुस्तकको शीर्षकमा चिकन्स नेकको इतिहास लेखिए पनि यसको ठूलो हिस्सा सन् १९६२ पछिको समय र समकालीन पूर्वाधार विकासमा मात्र केन्द्रित देखिन्छ । यस क्षेत्रको गहिरो इतिहास अहोम साम्राज्य, गोरखा राज्य विस्तार वा चीनको छिङ राजवंशको जटिल कर प्रणाली बीचको अन्तःसम्बन्धलाई आधुनिक रणनीतिक प्रतिद्वन्द्विताको भूमिकाका रूपमा मात्र हेरिएको छ । यसले गर्दा उपाध्यायले बताउन खोजेको इतिहासमा एउटा ठूलो रिक्तताको अनुभव हुन्छ ।
त्यस्तै व्यक्तिगत स्मृति र ऐतिहासिक तथ्यबीचको संक्रमण बिझाउने खालको छ । उपाध्याय झापाको भद्रपुरमा बाल्यकालका सम्झनाहरूबाट सन् १९७५ को सिक्किम विलयतर्फ यति सहज रूपमा अघि बढ्छन् कि कहिलेकाहीँ यसले कार्यकारण सम्बन्धलाई नै धमिलो पारिदिन्छ । ‘चिकन्स नेक’ कसरी सुरक्षा रणनीतिमा परिणत भयो भन्ने कुराको गहिरो ऐतिहासिक विवरण खोज्ने पाठकका लागि पुस्तकले प्रमाणित ऐतिहासिक तथ्यहरू भन्दा बढी अनुभूति मात्र प्रदान गर्दछ ।
उपाध्यायले उपलब्ध साहित्यमा हाबी रहेको दिल्लीकेन्द्रित भाष्यको विकल्पमा पुस्तकले मूल्यवान दृष्टिकोण प्रदान गरेको प्रशंसनीय छ ।
तर, चिकन्स नेकलाई एउटै एकाइको रूपमा व्यवहार गर्दा उपाध्यायले एकदमै फरक समुदायका अनुभवहरूलाई सामान्यीकरण गर्ने जोखिम मोलेका छन् । दार्जिलिङवासीका गुनासाहरू सिलिगुडीका व्यापारी वा भुटानका भिक्षुका जस्ता हुँदैनन् । तर, पुस्तकले कहिलेकाहीँ उनीहरू सबैलाई एउटै ‘सीमान्तीकृत’ भनिने वर्गमा चित्रित गरिदिएको छ ।
त्यसमाथि सम्पूर्ण कथालाई २२ किलोमिटरको जमिनको टुक्रामा मात्र केन्द्रित गर्दा उपाध्यायले कहिलेकाहीँ व्यापक विश्वव्यापी सन्दर्भलाई बिर्सिएको प्रतीत हुन्छ । उनले ‘चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विता’ र ‘एसियाली शक्तिहरूको उदय’ लाई संक्षिप्तमा उल्लेख त गरेका छन् । तर, यी कुराहरू ऐतिहासिक कथामा समाहित हुनुको साटो प्रायः अन्तिम निष्कर्षको रूपमा मात्र थपिएका छन् ।
इतिहासको रूपमा चाहिँ पुस्तक अपूर्ण छ । यसमा प्राज्ञिक सन्दर्भ ग्रन्थ बन्नका लागि आवश्यक गहिराइ र यसले आलोचना गर्ने भूराजनीतिक प्रतिमानहरूलाई वास्तवमै चुनौती दिन आवश्यक विश्लेषणात्मक धारको अभाव छ ।
यसबाहेक, पुस्तकलाई सान्दर्भिक बनाउने प्रयासले गहिराइलाई कम्प्रमाइज गरेको देखिन्छ । उपाध्यायले ‘चतुर सम्पादनमार्फत’ भदौमा भएको जेन जी आन्दोलनलाई अन्तिम पानाहरूमा समावेश गरेका छन् । यसले पुस्तकलाई समसामयिक बनाएको भए पनि एउटा दिगो ऐतिहासिक दृष्टिकोण प्रदान गर्नका लागि पछि हटेर सोच्नुको साटो न्युज साइकलसँगै दौडिन हतार गरिरहेको छाप पाठकमा पर्दछ । त्यस्तै, चिकन्स नेक क्षेत्रमा भारतीय जनता पार्टीको प्रयासमा हिन्दुत्व विचारधाराले जरो गाड्दै गएको सामान्य उल्लेख गरेका उपाध्यायले त्यसको परिणामका विषयमा चर्चा गर्नु वाञ्छनीय ठहर्थ्यो ।
कथावाचनको सबलताका बावजुद पुस्तक वैचारिक स्पष्टताको अभावबाट ग्रस्त छ । यो इतिहास, मानवशास्त्र र राजनीतिक भूगोलको चौबाटोमा उभिएको छ तर कुनै एक संरचनामा पूर्ण रूपमा प्रतिबद्ध छैन । पाठकहरू भूराजनीतिक इतिहास, यात्रा संस्मरण, आत्मकथा वा एथ्नोग्राफी केको अध्ययन गरिएको हो भनी चालै नपाई रनभुल्ल पर्छन् । छोटकरीमा भन्दा, पुस्तक चारैतिर छरिएको छ । एउटा प्रसंग चलिरहँदा अचानक अर्को प्रसंग फुत्तफुत्त आउँछ अनि उपाध्याय घुमेर फेरि त्यही पुरानो प्रसंगमा पुग्छन् ।
त्यसबाहेक पुस्तकले भूराजनीति र भूरणनीतिमा प्रकाशित प्राज्ञिक रचनालाई कमै मात्र सन्दर्भ बनाएको छ । चिकन्स नेकको इतिहास भनी दाबी गर्ने कृतिले सीमावर्ती क्षेत्र, रणनीतिक करिडोर र सुरक्षा अध्ययनसँग सम्बन्धित भूराजनीतिक साहित्यको प्रशस्त उद्धरण खोज्छ । पुस्तकमा प्रासंगिक किताबहरूको अलिअलि सन्दर्भ त दिइएको छ तर तीभन्दा बढी पत्रिकाका आलेखहरूलाई उद्धृत गरिएको छ ।
हुन त सान्दर्भिक कृतिसँग अपरिचित पाठकहरूका लागि उपाध्यायको पुस्तकले उठाएका विषय नयाँ लाग्न सक्छन् तर तिनको लामो इतिहास रहेको छ । तोकेरै भन्नुपर्दा कोलकाताको सिटी कलेजमा राजनीतिशास्त्रका उपप्राध्यापक आदित्य कान्त घिसिङले सिलिगुडी करिडोरका विषयमा लामा प्राज्ञिक लेखहरू प्रकाशन गर्दै आएका छन् । त्यस क्षेत्रको डाइनामिक्सलाई प्रस्तुत गर्न सञ्जीव बरुआका लेखहरू पनि प्रभावशाली छन् ।
सन् १९६२ को चीन–भारत युद्ध जस्ता व्यापक ऐतिहासिक घटनाहरूको कहिलेकाहीँ सन्दर्भ लिने बाहेक सैन्य इतिहास, रणनीतिक अध्ययन वा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरू पुस्तकमा खासै अटाएका छैनन् । रणनीतिक सन्दर्भहरूको कतैकतै उल्लेख भए पनि यो पुस्तक व्यवस्थित भूराजनीतिक व्याख्या भन्दा पत्रकारितातर्फ बढी झुकेको छ । अझ पत्रकारितामा पनि सकेसम्म धेरै मानिससँग कुरा गर्दाै समग्र तस्बिर आउँछ भनिन्छ तर पुस्तक मुट्ठीभरका व्यक्तिसँगको संवादमा सीमित छ ।
पुस्तकको विस्तृत दायरा र असमान गहिराइ अर्को उल्लेखनीय समस्या हो । यसले चिकन्स नेकलाई नेपाल, भुटान, तिब्बत, सिक्किम र भारतको पूर्वोत्तरका व्यापक ऐतिहासिक तथा भूराजनीतिक घटनाक्रमहरूसँग जोड्ने महत्त्वाकांक्षी प्रयास गरे तापनि यस्तो व्यापकताले विषयवस्तुलाई समान रूपमा ट्रीट गरिएको छैन । स्थानीय सांस्कृतिक पहिचान वा सीमावर्ती जीविकोपार्जनका विषयमा कुरा गरिएको छ तर महत्त्वपूर्ण भूराजनीतिक तनावका केन्द्रहरूलाई सरसर्ती रूपमा मात्र हेरिएको छ । उदाहरणका लागि, चीन र भारतको बीचमा नेपालको जटिल अवस्थाको चर्चा गरिएको छ तर नेपालको रणनीतिक सोच र कूटनीतिक भूमिकाबारे गहिराइ भेटिँदैन ।
समयसँगै चिकन्स नेक कसरी भूराजनीतिक विषयको रूपमा विकसित भयो (बेलायती उपनिवेशले कोरेका स्वेच्छाचारी सीमारेखाका दीर्घकालीन प्रभाव) भन्ने विषयमा सुसंगत विवरण खोज्ने पाठकहरू विश्लेषणात्मक गहिराइमा भन्दा कथावाचनको शैलीलाई दिइएको प्राथमिकताका कारण निराश हुन सक्छन् ।
चिकन्स नेक र त्यहाँका समुदायहरूको बारेमा जान्न खोज्ने पाठकहरूका लागि उपाध्यायको पुस्तक सान्दर्भिक छ । तर, विश्लेषणात्मक सिद्धान्त र व्यवस्थित तर्कमा आधारित भूराजनीतिक इतिहास खोज्ने डोमेन एक्सपर्टहरूका लागि भने यसले खासै नयाँ कुनै अन्तर्दृष्टि प्रदान गर्दैन ।
लामो समय सम्पादनको अनुभव बटुलेका उपाध्यायले पुस्तकलाई कसिलो बनाउन चुकेको अनुभव हुन्छ । बारम्बार उही कुराहरू दोहोरिइहँदा पाठकलाई झिँझो लाग्न थाल्छ । जस्तै, भारत र चीनको सीमाको लम्बाइ किन पटकपटक लेखिरहनुपरेको हो ? त्यस्तै कालिम्पोङलाई जवाहरलाल नेहरुले गुप्तचरहरूको गुँड (नेस्ट अफ स्पाइज) भनेको कुरा पनि बारम्बार दोहोरिरहन्छ । पुस्तक पढ्दै जाँदा के अनुभव हुन्छ भने उपाध्यायले सान्दर्भिक सामग्री त जम्मा पारे तर त्यसलाई बान्की मिलाएर प्रस्तुत गर्न सकेनन् । एउटा राम्रो सम्पादकको अभाव पुस्तकमा खट्केको छ ।
त्यसो भन्दै गर्दा सीमावर्ती क्षेत्रका धुलाम्मे सडकहरूमा हिँडेर पात्रहरूसँग संवाद गर्ने र उनीहरूको भोगाइ बुझ्न खोज्ने उपाध्यायको क्षमताले पुस्तकलाई पठनीय बनाएको छ । चिकन्स नेकलाई भारतको रणनीतिक कमजोरीका रूपमा हेर्ने सुरक्षापरक दृष्टिकोणमा ‘रिड्युस’ नगरी लाखौं मानिसको घर भएको जीवन्त क्षेत्रका रूपमा हेर्नुपर्ने कुरालाई उपाध्यायले सफलतापूर्वक सम्झाएका छन् ।
तर, इतिहासको रूपमा चाहिँ पुस्तक अपूर्ण छ । यसमा प्राज्ञिक सन्दर्भ ग्रन्थ बन्नका लागि आवश्यक गहिराइ र यसले आलोचना गर्ने भूराजनीतिक प्रतिमानहरूलाई वास्तवमै चुनौती दिन आवश्यक विश्लेषणात्मक धारको अभाव छ ।
यो पुस्तक स्थलगत रिपोर्टिङको एक उत्कृष्ट नमूना हो । त्यसलाई अनुशासित ऐतिहासिक विश्लेषणले थप बलियो बनाउन सक्थ्यो ।








प्रतिक्रिया