अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषण गरेर मात्रै समाधान हुन सक्दैनन्ः पूर्वअर्थमन्त्री कार्की



काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए ।

सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए । उनलेआयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताए ।

सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्‍‍याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए ।

उनले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको बताए ।

उनले सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए । सरकारले कृषि उत्पादन बढाउने भन्छ तर किसान जनता मल र बीउ खै भन्ने अवस्था रहेको उनले बताए ।

नेकपा (एकिकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने ग्यारेन्टी के हो ? भन्दै प्रश्न गरे । उनले सरकारले दिएको लक्ष्यअनुसार राजश्व उठ्ने/नउठ्ने विषयमा सरकारले जनतालाई जवाफ दिन माग गरे ।

उनले बजेट विनियोजन गर्दा साधरण खर्च र वित्तीय व्यवस्थापन भन्दा पनि पुँजीगत खर्च ध्यान दिनुपर्ने भए पनि सरकारले उल्टो बजेट ल्याएको बताए ।

उनले सरकारले हेरेक वर्ष कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि परिणाम आउन नसेको बताए ।


क्लिकमान्डु