ऋणीले कर्जा नतिरेपछि सहकारी जिल्ला संघ पुग्यो दमक नगरपालिका



काठमाडौं । ऋणीले समयमै ऋण नतिरेपछि झापा जिल्ला सहकारी संघले ऋण उठाउन दमक नगरपालिकाको सहारा लिएको छ । जिल्ला संघले कर्जा उठाउन सहजीकरणका लागि नगरपालिकाको कार्यालयमा निवेदन दिएको हो ।

निवेदनसँगै दमक नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाबाट ऋण लिई नियमित रुपमा किस्ता नबुझाउने र तोकिएको भाकाभित्र ऋणको साँवा-ब्याज नबुझाउने ऋणी सदस्यलाई संस्थाको सम्पर्कमा आउन भनेको छ ।

ऋण तिर्ने बुझाउने सम्बन्धमा सञ्चालक समितिसँग आवश्यक छलफल गर्ने, आफूले लिएको ऋणको किस्ता नियमित गर्ने, ऋणको साँवा-ब्याज तोकिएको भाकाभित्र बुझाई आफू जस्तै अन्य सदस्यको बचत रकम फिर्तामा सहयोग गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाले सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन, सहकारी संस्थाबाट लिएको ऋण तोकिएको समयमै बुझाई कालोसूचीमा पर्नबाट जोगिनसमेत अनुरोध गरेको छ ।

सहकारी संस्थाहरुबाट ऋण लिई केही सदस्यले तोकिएको भाकाभित्र नियमित किस्ता, साँवा-ब्याज नबुझाउने, ऋणको किस्ता नियमित गर्न, भाकाभित्र साँवा-ब्याज बुझाउन ताकेता गर्दासमेत ऋणको किस्ता र साँवा-ब्याज बुझाउन अटेर गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने अनावश्यक हल्लाको पछि लागेर वा जानाजानी अटेर गरी तोकिएको समयमै किस्ता वा ऋणको साँवा-ब्याज नबुझाई अटेर गरेमा प्रचलित सहकारी कानुनबमोजिम कारबाही हुने नगरपालिकाले स्पष्ट पारेको छ ।


क्लिकमान्डु