प्रविधिमा किसानको आकर्षण
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध छन् । पिपलाडीमा चौधरीको साढे ४ बिघा जमिन छ । उनले खेतीपातीका लागि खेत जोत्न राँगा र गोरुको प्रयोग गर्न छाडेको ५ वर्ष भयो । खेत जोत्नका लागि उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन् ।
‘अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ,’ उनले भने, ‘प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।’ वर्षौँदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आएका छन् ।
कुरेरुवा कृषक समूहमा आबद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका हुन् । उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर ट्रिलरलगायतका उपकरण छन् । ‘धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ,’ उनले भने, ‘कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।’
शुक्लाफाँटा-२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेकी छन् । ‘कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्,’ उनले भने, ‘यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।’
जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यन्त्रको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन् ।
‘पहिले-पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो,’ चौधरीले भने, ‘अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दै छौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।’
कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ-नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थपेको छ । गाउँमा काम गर्ने युवा वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ ।
जनशक्ति महँगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको चेतराज चौधरी बताउँछन् । ‘विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ,’ उनले भने, ‘अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक-दुई सातामै सकिन्छ ।’
कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । ‘कृषि कर्ममा प्रयोग हुने नयाँ-नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ,’ उनले भने, ‘व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।’
उहाँका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ ।