दूरसञ्चार प्रदायक कम्पनीहरु पारदर्शी नभएको प्राधिकरणको ठम्याइ, जरिवाना गर्ने चेतावनी



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालका दूरसञ्चार प्रदायक कम्पनीहरु पारदर्शी नभएको बताएका छन् । नेपालमा दूरसञ्चारको विकास र सरोकारवालाको भूमिका विषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै खनालले नेपालको दूरसञ्चार प्रदायक कम्पनीहरु प्रारदर्शी हुन नसकेको बताएका हुन् ।

‘नेपालले डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई अगाडि बढाएको छ । यसमा सेवा प्रदायक कम्पनीहरु पारदर्शी हुन आवश्यक छ,’ उनले भने, ‘कतिपय सेवा प्रदायक कम्पनीहरुले आफ्नो ब्यालेन्स सिट वेवसाइटमा राखेको देखिँदैन । निजी क्षेत्रले अब हामी पनि पारदर्शी छौं । नागरिकबाट उठाएको रकमको अवस्था यस्तो छ । र, वार्षिक आय व्ययको सम्पूर्ण विवरण वेवसाइटमा राख्न आवश्यक छ ।’

प्राधिकरणले स्वनियममा विश्वास गरिरहेको बताउँदै खनालले पारदर्शी नभएको सेवा प्रदायक कम्पनीहरुलाई जरिवाना गर्ने चेतावनी दिएका छन् । सेवा प्रदायक कम्पनीहरुले आफ्नो आय व्ययको विवरण सर्वसाधारणले थाहा पाउनुपर्छ । तर, नेपालका अधिकांश कम्पनीहरुले विवरण लुकाउने प्रवृत्ति रहेको उनको भनाइ छ ।

‘कम्पनीहरुले स्वत्तः समयअनुसार आफ्नो विवरण राख्नुपर्छ । यदि नराखेको खण्डमा प्राधिकरणले जरिवाना गर्न नपरोस्,’ उनले चेतावनी दिँदै भने ।

त्यसैगरी, सेवा प्रदायक कम्पनीहरुले दिँदै आएको सेवामा कुनै ह्रास आएमा वा गुणस्तरमा समस्या आएमा उपभोक्तालाई अगाडि नै वेवसाइटमार्फत् सूसुचित गर्नुपर्ने उनले उल्लेख गरे । उनकाअनुसार सेवा दिन प्रदायक कम्पनीहरुले रकम असुलेर गुणस्तरीयहीन सेवा प्रदान गर्न छुट छैन ।

त्यस्तै, उपभोक्ताले पनि रकम तिरिसिकेपछि सेवा प्रदायक कम्पनीले जनाएको प्रतिबद्धताअनुसार सेवा प्रदान गर्यो वा गरेन भन्ने विषयमा चनाखो हुन आवश्यक छ । यदि सेवा प्रदायक कम्पनीहरुले तोकेको बमोजिम सेवा प्रदान गर्न नसकेमा गुनासो गर्ने, उजुरी गर्ने र क्षतिपूर्ति पाउनुपर्छ भन्नेमा उपभोक्ता जानकार हुनुपर्ने उनले बताए ।

प्राधिकरणले सन् २०२३ को अन्त्यसम्ममा देशभर मोबाइल सेवाको पहुँच पुर्याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार काम अगाडि बढेको उनले जानकारी दिए ।


क्लिकमान्डु