सहकारीकर्मी निहित इच्छापूर्तिका लागि हैन, उद्देश्य हासिल गर्न लाग्नुपर्छ : सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले कसैको निहित इच्छापूर्तिका लागि नभएर सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्ने बताए ।

सभामुख घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकोले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु-नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने बताए । साथै प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै उनले कानूनमा भएका कमी कमजोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन-नियमहरु बन्नेमा आफु विश्वस्त भएको बताए ।

कार्यक्रममा सभामुख घिमिरेले-२०७९ सालमा ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ÷संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्र वितरण गरे । सहकारी पत्रकारिता पुरस्कार-२०७९ बाट सहकारी अखबार डटकमका सम्पादक खिलानाथ दाहाल नगद २५ हजारसहित पुरस्कृत भएका छन् ।


क्लिकमान्डु