चितवनमा मात्रै ६ हजार गाईभैँसीमा लम्पी स्किन, १७६ गाई मरे
चितवन । चितवनका ७ पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा ६ हजार ७९९ गाईभैँसीमा यो रोगको संक्रमण देखिएको छ ।
जिल्लामा ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्यांक छ । तीमध्ये ६ हजार ५३९ गाई र २६० भैँसीमा यो रोगको संक्रमण देखिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण १७६ गाई मरेका छन् ।
सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम माडी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६२, भरतपुर महानगरपालिकामा ३४, राप्ती नगरपालिकामा ४०, रत्ननगर नगरपालिकामा १४, कालिका नगरपालिकामा १०, खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा ६ वटा गाई मरेका छन् ।
लम्पी स्किनका कारण मरेकामध्ये भरतपुर महानगरमा ५ गाईको बिमा गरिएको थियो । जिल्लाका तीन पालिकामा पालिएका १५ हजार ९० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ ।
भरतपुरमा ३ हजार ७९०, रत्ननगरमा ७ हजार र राप्तीमा ४ हजार ३ सय गाईभैँसीलाई खोप लगाइएको छ । स्थानीय पालिका र सहकारीमार्फत खोप खरिद गरी लगाइएको हो । विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका ५ हजार गाईभैंसीलाई औषधि वितरण गरिएको छ । केन्द्रमा बजेट अभावका कारण स्थानीय पालिका, सहकारी र कृषक आफैँले खरिद गरी खोप लगाउने गरेका छन् ।
गर्मीयाममा लामखुट्टे, झिंगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले बताए । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा १ देखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छन् ।
संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले सुझाव दिएका छन् ।