प्राइम ब्रान्डको टायल बजारमा



काठमाडौं । नेपाली बजारमा ‘प्राइम’ ब्रान्डको सेरामिक टायल पाइने भएको छ । डेढ वर्षअघि उद्योग विभागमा उद्योग दर्ता गरी निर्माण कार्य अगाडि बढाएको प्राइम सेरामिक प्रालिले औपचारिक रुपमा उद्घाटन गर्दैछ ।

कम्पनीले बिहीबार औपचारिकरुपमा उद्घाटन गरेपछि बजारमा सहजै प्राइम ब्रान्डको सेरामिक पाउने भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को उपाध्यक्षसमेत रहेका आशिष गर्ग कम्पनीको अध्यक्ष हुन् । प्रशान्त अग्रवाल प्रबन्ध निर्देशक रहेको कम्पनीले केही महिनादेखि सेरामिक उत्पादन गर्दै आएको छ ।

२०७८ को कात्तिक महिनामा कम्पनी दर्ता भएको थियो । उद्योग विभागको तथ्याङ्कअनुसार उक्त उद्योगबाट वार्षिक २ करोड ८० लाख पिस टायल उत्पादन गर्नेछ । कम्पनीले १५५ जनालाई रोजगारी दिएको छ ।

नेपाल अहिले टायलमा पूर्ण परनिर्भर छ । नेपालले वार्षिक अर्बौ रुपैयाँको आयात गरी बजारको माग आपूर्ति गर्दै आएको छ । त्यस्तै, बजारमा टायलको माग उच्च बढेसँगै निजी क्षेत्रका लगानीकर्ताले सम्भावित क्षेत्रमा लगानी बढाएका छन् । पछिल्लो ५ वर्षको तथ्याङ्क हालसम्ममा दर्जनको हाराहारीमा टायल उद्योग दर्ता गरेका छन् । लगानीकर्ताहरुले देशमै उत्पादन गर्न सक्ने सम्भावना देखेपछि यस क्षेत्रमा लगानी बढाएका छन् ।

त्यस्तै, पछिल्ला ५ वर्षको अवधिमा टायल क्षेत्रमा २५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उक्त तथ्याङ्कले पनि नेपालमा आयातित टायल निरुत्साहित गर्नका लागि लगानी बढाउँदै गएको स्पष्ट पार्छ ।


क्लिकमान्डु