सर्वोत्तम सिमेन्टको व्यापार ३८ प्रतिशतले घट्यो, साढे ३ अर्बको मात्रै कारोबार



काठमाडौं । आर्थिक मन्दीका कारण बजारमा सिमेन्टको माग नहुँदा सर्वोत्तम सिमेन्टको व्यापार ३८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ९ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३८ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, यो वर्ष सिमेन्टको मागमा कमी आउँदा ९ महिनाको अवधिमा ३ अर्ब ६४ करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ८ अर्ब ९५ करोड रुपैयाँ, सन् २०२० मा ७ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१० मा स्थापना भएको कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले नेपाली बजारमा ‘सर्वोत्तम’ ब्रान्डको सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट दुबै उत्पादन गर्दै आएको छ । सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनीसँग वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले अहिले ओपीसी र पीपीसी ब्रान्डको सिमेन्ट उत्पादन गरी बजारमा व्यापार गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन तथा कर्जाका लागि ८७ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ८१ करोड रुपैयाँको रेटिङ गराएको छ । तर, व्यापार खस्किँदा कम्पनीलाई वाच विथ नेगेटिभ इप्लिकेशनको रेटिङ दिएको छ ।

देशभर १३ सय डिलर रहेको कम्पनीको व्यापारसँगै नाफामा उच्च कमी आएको छ । त्यस्तै, यो वर्ष कोइलाको मूल्य उच्च बढेकाले पनि कम्पनीको नाफामा प्रभाव परेको उल्लेख छ ।

बजारमा माग नहुँदा कम्पनीको उत्पादन क्षमता ६४ प्रतिशतले कमी आएको छ ।


क्लिकमान्डु