बजेटबाट जिल्ला निर्वाचन कार्यालय हटाएको बिरोधमा एमाले र रास्वपाको बिरोध, संसद बैठक स्थगित
काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध विपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठक सुरु हुनासाथ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए । परियारले सभामुखले अर्थमन्त्रीलाई रुलिङ गर्नुपर्ने माग गरेका थिए ।
उनले सदनको कारबाही अघि बढ्न नसक्ने भनेपछि सभामुखले एमालेका सूर्य थापालाई समय दिए । थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नभए सदन चल्न नसक्ने बताए । त्यसपछि बोलेका रास्वपा सभापति रवि लामिछानेले सत्तापक्षका सांसदनै बजेटको विपक्षमा रहेको तर पास गर्नुपर्ने बाध्यता सुनाइहेको भन्दै उनीहरुको बाध्यताको सिकार यो देशको लोकतन्त्र बन्न नसक्ने बताए । उनले अर्थमन्त्रीले सो निर्णय फिर्ता नलिए सदन नचल्ने बताए ।
सभामुख देवराज घिमिरले प्रतिपक्षी दलका सांसदलाई बैठक सञ्चालनका लागि निरन्तर आग्रह गरेका थिए । अन्तिममा उनले १५ मिनेटका लागि संसद बैठक स्थगित गरे ।