बजेटको अभावमा सेनाले समयमै सडक निर्माण हुन सकेन: उपप्रधानमन्त्री खड्का



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उनले सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताए ।

उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको समेत बताए ।


क्लिकमान्डु