इनसाइड डिलिङ, विसेल ब्लो र अर्थतन्त्र



आर्थिक जगत् तथा व्यवस्थापनको दुनियाँमा प्रयोग हुने शब्द इनसाइड डिलिङ नेपालको सन्दर्भमा खासै चर्चित छैन । वास्तवमा, नेपाली व्यवस्थापकहरूले यसलाई त्यति महत्त्व दिएको देखिँदैन । इनसाइड डिलिङ पूर्णरूपले गैरकानुनी कार्य हो । यसमा पूर्णरूपले बजारमा आइनसकेका सूचीकृत कम्पनीका संवेदनशील सूचना वा तथ्यांकको सुनियोजित तरीकाले अनधिकृत प्रयोग गरिन्छ ।

संस्थाका आफ्नै कर्मचारी, निर्देशक, व्यवस्थापक, सेयरधनी आदिबाट व्यवसायका गोप्य सूचना चुहावट गरी त्यसैका आधारमा कारोबार गर्ने गरिन्छ । इनसाइड डिलिङ गर्ने मान्छे कम्पनीको कर्मचारी नै हुनु जरुरी छैन, उसले खाली कम्पनीका सूचना विभिन्न माध्यममार्फत बाहिर ल्याएर त्यसका आधारमा बजारमा कारोबार गर्ने गर्छ । यस किसिमको कार्य (इनसाइड डिलिङ) एक सामाजिक अपराध हो ।

यसबाट वस्तु तथा सेवा र सेयरमूल्य अनावश्यक उतारचढाव हुन्छ र अर्थतन्त्रका सबै पक्षलाई नकारात्मक प्रभाव पार्छ । यसको अर्थ कम्पनीका कर्मचारीले अथवा ऊसँग सम्बन्धित पक्षले कारोबार गर्न नपाउने भन्ने होइन । तर, बजारमा नआएको सूचना भित्रीरूपमा विश्लेषण गरी कारोबार गरिन्छ अथवा गराइन्छ भने त्यो गैरकानुनी हुन्छ ।

यसै सन्दर्भमा हालै मात्र एउटा चर्चित घटना घटेको छ । संसारको अतिचर्चित हेजफन्ड विशेषज्ञ श्रीलंकन मूलका अमेरिकी नागरिक राज राजारत्नमलाई यस्तै इनसाइड डिलिङको अभियोग लगाइएको छ । उनलाई कर्मचारीमार्फत विभिन्न कम्पनीका गोप्य सूचना प्राप्त गरी त्यसबाट अनुचित लाभ लिएको आरोप छ, जुन पुष्टिसमेत भइसकेको छ ।

भारतीय मूलका रजन गुप्ता तथा अनिलकुमारमार्फत राजले त्यस्ता गोप्य सूचना प्राप्त गरी कारोबार गर्ने गरेको प्रमाणित भइसकेको छ । यस काण्डमा संलग्न सबैलाई अमेरिकी अदालतले दोषी ठहर्‍याइसकेको छ । चरम महत्त्वाकांक्षाका साथ गरिएको यस किसिमको गतिविधि अत्यन्त निन्दनीय छ ।

हाम्रो सन्दर्भमा यस किसिमका गतिविधिलाई अहिलेसम्म त्यति महत्त्वका साथ अध्ययन गरिएको देखिँदैन । वस्तुबजारदेखि सेयर बजार तथा गोप्य राष्ट्रिय सूचनाको गलत प्रयोग भएका उदाहरण खासै देखिएका छैनन् । तर, यसको अर्थ हाम्रो आर्थिक तथा व्यावसायिक जगत् यस किसिमका घटनाबाट पूर्णरूपले सुरक्षित छ भन्ने होइन ।

हाम्रो सन्दर्भमा सेयर बजार र वस्तुबजारमा हुन सक्ने सूचनाको गलत प्रयोगको अनुसन्धान थालिनु अति जरूरी छ । चाहे त्यो राजनीतिक गोप्य सूचना वा देशको आर्थिक बजेट होस् कुनै पनि सुरक्षित छ भन्ने स्थिति छैन । नेपालका राजनीतिक निर्णय नेपाली जनताभन्दा पहिला विदेशी शक्तिहरूले थाहा पाउँछन् । अनि आफूअनुकूलको निर्णय गराउन सत्ता-संघर्षमा दलहरूलाई भिडाउँछन् । यस्ता घटना सबैसामु सर्वविदितै छन् ।

हाम्रा नेताहरू ‘दिल्ली दूर नहीँ’ भन्ने व्यंग्यात्मक वाणी आफ्नै राष्ट्रिय छापाहरूमा बकिरहेका हुन्छन् । अर्थ मन्त्रालयले अर्थमन्त्रीमार्फत सदनमा पेस गर्नुपर्ने वार्षिक बजेट पहिला नै व्यापारीहरूले थाहा पाउँछन् । यस्ता गलत कार्यका विषयमा सोच्न ढिला भइसकेको छ । हुन त इनसाइड डिलिङ मुख्य रूपमा आर्थिक तथा व्यावसायिक सूचनासँग सम्बन्धित छ ।

तर, राजनीतिक सूचनाको गलत प्रयोगले पनि अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने र व्यावसायिक जगतमा पनि यसको अनुकरण हुन सक्ने भएकाले यस्ता क्रियाकलापलाई पूर्णरूपमा निस्तेज पार्नुपर्छ । त्यसैका लागि यस्ता कुरालाई पनि इनसाइड डिलिङको कोणबाट विश्लेषण गर्नु उपयुक्त हुनेछ ।

उदाहरणका लागि कुनै दुई बैंकबीच मर्जर हुने निर्णय भयो । तर, केही समयपछि कुनै कारणले त्यसले पूर्णता पाएन । यस किसिमका सूचना औपचारिक रूपमा बजारमा आउनुभन्दा पहिला नै कुनै व्यक्ति वा बैंकका कर्मचारीमार्फत ती सूचनाको गलत उपयोग पनि हुन सक्छ । यस किसिमका गलत नियतबाट अभिप्रेरित र पूर्णरूपमा अर्थतन्त्रलाई हानी हुने गतिविधि रोक्न सरकारी निकाय, व्यवसायीका साथै सम्पूर्ण सरोकारवाला पक्षले अब सोच्नुपर्ने बेला भएको छ ।

अन्यथा, भविष्यमा ठूलै दुर्घटना हुन सक्ने कुरालाई नकार्न सकिँदैन । विभिन्न सूचना तथा तथ्यांकहरूको गलत प्रयोगलाई कानुनी दायरामा ल्याउन अनिवार्य छ । यस्ता सूचनाका कारण देशमा सम्पत्ति शुद्धीकरण गर्ने क्रियाकलाप बढ्ने सम्भावना हुन्छ । त्यसमा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई कानुनसम्मत प्रमाणित गरिन्छ ।

त्यसैले, चाहे त्यो राष्ट्रको महत्त्वपूर्ण निर्णय वा विभिन्न व्यवसायका वार्षिक प्रतिवेदन हुन् तिनको गलत प्रयोग समयअगावै गर्न दिनु हुँदैन र त्यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न विसेल ब्लो (आन्तरिक सूचनाको गलत प्रयोग गरेर अनुचित लाभ लिन खोज्नेको पर्दाफास गर्ने) वा बिगुल फुक्ने कार्यलाई कानुनी रूपमा नै स्पष्ट पारिनुपर्छ ।

सूचनाहरूको गलत प्रयोगलाई कानुनी स्तरबाटै निरूत्साहित गर्नु जरूरी छ । तर, यसबाट कर्मचारीहरूमा नकारात्मक सन्देश भने जानु हुँदैन अर्थात् आफ्नो कम्पनी वा फर्मको गलत क्रियाकलापलाई समाजसामु राख्न उनीहरूलाई प्रोत्साहित गरिनुपर्छ । यस किसिमको कार्यलाई संरक्षण दिनुपर्छ ।

विसेल ब्लो (बिगुल फुक्ने) त्यो व्यक्ति हो, जसले आफ्ना कम्पनीका गलत क्रियाकलापलाई समाजमा ल्याउँछ र त्यस्ता गतिविधिलाई निरुत्साहित गर्छ । यस किसिमको विसेल ब्लो आन्तरिक तथा बाह्य दुवै हुन सक्छन् । तर, विसेल ब्लोबाट इनसाइड डिलिङलाई थप प्रोत्साहन मिल्नुहुँदैन । एक पक्षको फाइदाका लागि मात्र विसेल ब्लो गरिन्छ भने त्यसलाई इनसाइड डिलिङअन्तर्गत नै हेरिनुपर्छ ।

कर्मचारीले आफ्ना कम्पनीका विभिन्न गलत क्रियाकलापहरू जस्तैः कुनै गैरकानुनी कार्य, जसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने, सामाजिक उत्तरदायित्वको खेलवाड गर्ने, वातावरण विनाश तथा राज्यलाई प्राप्त हुने कर घटाउने वा बहन गर्नुपर्ने दायित्व बढाउन सहयोग गर्छ भने त्यस्ता कार्यको बिगुल फुक्न सक्छन् । तर, कुनै पनि सरकारी वा गैरसरकारी रोजगारदाताले कर्मचारीलाई यस्तो कार्य गर्दिनँ भनेर सम्झौता गराउन पाइँदैन । यसमा राज्यले संरक्षण दिन जरूरी छ ।


क्लिकमान्डु