अमेजोन र गुगलले भारतमा ४६ खर्ब २३ अर्ब लगानी गर्दै, एप्पलले क्रेडिट कार्ड ल्याउँदै



काठमाडौं । भारत अहिले विश्वभरमा भएका देशहरुमध्येमा ५ औं ठूलो अर्थतन्त्र हो । भारतको अर्थव्यवस्थामा तीव्र गतिमा भइरहेको वृद्धि र यहाँको जनसांख्यिकीय अवस्था लगायतका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुको उपस्थिति भारतमा तीव्र रुपमा बढ्दै गइरहेको छ । विगतमा भारततर्फ हेर्दा पनि नहेर्ने कम्पनीहरुले समेत भारतमा अहिले लगानी गरिरहेका छन् ।

यहि क्रममा अमेजोन र गुगलले भारतमा २.९ लाख करोड भारतीय रुपैयाँ (४६ खर्ब २३ अर्ब ३९ करोड ५७ लाख नेपाली रुपैयाँ) लगानी गर्ने भएका छन् । त्यस्तै, एप्पलले पनि आफ्नो पहिलो क्रेडिट कार्ड भारतमा नै सार्वजनिक गर्ने निधो गरेको छ ।

गुगलले र अमेजोनले छुट्टा छुट्टै रुपमा भारतमा लगानी गर्न लागेका हुन् । गुगलले भारतमा डिजिटाइजेसनका लागि १० बिलियन अमेरिकी डलर (करिब ८२ हजार करोड भारतीय रुपैयाँ वा १३ अर्ब ६ अर्ब ७६ करोड ३० लाख नेपाली रुपैयाँ) लगानी गर्न लागेको छ । गुगलका सीईओ सुन्दर पिचाईले गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटर्वार्तापछि यो विषयमा जानकारी दिएका हुन् ।

पिचाईले भनेका छन्, ‘प्रधानमन्त्रीसँग भेट हुनु मेरो लागि सम्मानको कुरा हो । गुगल भारतमा डिजिटलाइजेसनका लागि १० बिलियन अमेरिकी डलर लगानी गर्नेछ । हामी ‘गिफ्ट’ सिटी, गुजरातमा आफ्नो ग्लोबल फिनटेक अपरेसन सेन्टर खोल्ने घोषणा गर्छौं ।’

गुगलले जस्तै अमेजोनले पनि भारतमा २६ बिलियन अमेरिकी डलर (२.१ लाख करोड भारतीय रुपैयाँ वा ३३ खर्ब ७ अर्ब ५ करोड ३८ लाख नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । अमेजोनका सीईओ एन्डी जैसीसँगको भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ता गरेसँगै यो लगानी आउने निश्चित भएको हो । उनले यो लगानीबाट भारतमा थप रोजगारी सिर्जना गर्ने, धेरै साना र मध्यम किसिमका व्यवसायहरुलाई प्रविधि मैत्री बन्नका लागि सहायता गर्ने बताएका छन् ।

यी दुवै कम्पनीले गर्ने लगानीले भारतलाई प्रविधिमैत्री रुपमा रुपान्तरण गर्नका लागि खर्च गरिने बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयको ट्विटरमा जनाइएअनुसार उनीहरु कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स), फिनटेक र अनुसन्धान तथा विकासलगायतका क्षेत्रमा यो रकमलाई लगानी गर्नेछन् ।

अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले हाल विभिन्न क्षेत्रका व्यापारी तथा विभिन्न कम्पनीका सीईओहरुलाई भेटेका थिए । यही क्रममा गुगल र अमोजोनबाट पनि अर्बौं बराबरको लगानी सुनिश्चित भएको छ ।

अन्तर्राष्ट्रिय कम्पनीले भारतमा लगानी केन्द्रीत गरिरहँदा एप्पल पनि भारतमै केन्द्रित हुन थालेको देखिएको छ । एप्पलले छिट्टै नै भारतमा आफ्नो क्रेडिट कार्ड ‘एप्पल कार्ड’ सार्वजनिक गर्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार एप्पलले भारतको एडिएफसि बैंकसँगको सहकार्यमा भारतमा आफ्नो क्रेडिट कार्ड ल्याउन लागेको हो । उक्त क्रेडिट कार्डमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुले दिने क्रेडिट कार्डमा जस्तो भुक्तानी ढिलो हुँदा लाग्ने ‘लेट पेमेन्ट फिस’ नलाग्ने किसिमको हुने बताइएको छ ।

भारत हाल संसारभरकै कम्पनीहरु, त्यसमा पनि प्रविधिमैत्री र उपभोक्ता केन्द्रित रहेका कम्पनीहरुले लगानी गर्ने मुख्य ठाउँ बनिरहेको छ । यसअघि भारतमा टेस्लाले आफ्नो कारखाना खोल्नका लागि गृहकार्य सुरु गरिसकेको छ भने एप्पलले पनि आफ्ना आईफोन तथा अन्य प्रोडक्ट्सहरु भारतमा बनाउन सुरु गरेको छ । केही महिना अघि मात्रै एप्पलका सीईओ टिम कुक नै भारतमा आएर एप्पलका दुई आधिकारिक स्टोर्सहरुको पनि सुरुवात गरेका थिए ।


क्लिकमान्डु