भरतपुर महानगरको बजेट: धुर्मुस सुन्तलीले बनाउन नसकेको क्रिकेट रंगशालाका लागि ३ करोड‍ (पूर्णपाठ)



काठमाडौं । भरतपुर महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशालालाई संघ र प्रदेशसँगको साझेदारी र सहकार्यमा निर्माण सम्पन्न गर्ने भएको छ ।

भरतपुरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा गौतम बुद्ध क्रिकेट रंगशालालाई लिएर यस्तो व्यवस्था गरिएको हो । उक्त निर्माण कार्यका लागि आगामी आवमा ३ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

हास्यकलाकार समेत रहेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण सुरु गरेको यो रंगशालाको काम हालसम्म अलपत्र छ । धुर्मुस र सुन्तलीले रंगशाला निर्माणबाट हात झिकेपछि खर्च भएको विषयदेखि तिर्न बाँकी रहेको ऋणलगायतका कारण पटक पटक उनीहरु विवादमा पनि आएका थिए । हाल रंगशालाको जिम्मा भने भरतपुर महानगरपालिकामा रहेको छ ।

अगामी आवको बजेटमा रंगशालाको विषयमा भनिएको छ, ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकरासँग साझेदारी र सहकार्य गरिनेछ जसको लागि रु ३ करोड बिनियोजन गरिएको छ।’

भरतपुरले आगामी आवका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको थियो । आर्थिक संकलन हुन नसकेपछि गत वर्षको पुसमा महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार फाउण्डेसनले स्वामित्व हस्तान्तरण गरेको थियो । फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको थियो ।


क्लिकमान्डु