भरतपुर महानगरको बजेट: सडक खाल्टाखुल्टी पुर्न ५ करोड रुपैयाँ छुट्याइयो
चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।
आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ ।
बजेटमा महानगरपालिका भित्र सडक खाल्टाखुल्टी नियमित मर्मत संभार कार्यका लागि एकमुष्ट ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले दिगो फोहोरको व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइड पूर्वाधार निर्माण कार्यको प्रारम्भ गरिने उल्लेख छ जसका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।