काठमाडौंका महानगरका सबै सेवा अनलाइन बनाउन १५ करोड बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सेवालाई अनलाइन बनाउन १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगर उपप्रमुख सुनिता डंगोलले महानगरबाट प्रदान गरिने सबै सेवालाई अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई गौरवको योजनाको रुपमा आत्मसात गरी ‘सुशासनका लागि अनलाइन सेवा’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् ।

त्यस्तै महानगरका मुख्य सडक, चोक र गल्लीमा सिसिटिभी क्यामेरा जडान गरी महानगरवासीलाई सुरक्षित नगरमा बस्न योग्य सहर बनाउने उद्देश्यले ‘महानगर देख्छ’ योजनालाई पनि गौरवको योजनामा समावेश गरी २० करोड बजेट विनियोजन गरिएको छ ।

महानगर टेलिभिजन स्थापना गर्न ५ करोड बजेट छुट्याइएको उपप्रमुख डंगोलले जानकारी दिइन् । महानगरले सूचना प्रविधि सम्मेलन आयोजना गर्न पनि बजेट छुट्याएको जनाएको छ ।

त्यस्तै महानगरले भवन निर्माण इजाजत, सिफारिस तथा प्रमाणित र राजस्व संकनल कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्न आवश्यक रकम विनियोजन गरेको जनाएको छ ।


क्लिकमान्डु