म्याग्दीमा ३.४५ मेगावाटको सिंकोस खोला हाइड्रोपावर बन्दै
काठमाडौं । गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित धवलागिरी गाउँपालिकामा ३.४५ मेगावाट क्षमताको सिंकोस जलविद्युत आयोजना बन्ने भएको छ ।
विद्युत विकास विभागले गाउँपालिकामा रहेको सिंकोस खोलाको पानी उपयोग गर्दै ३.४५ मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण हुन लागेको जानकारी दिएको हो ।
जलविद्युत आयोजनाको निर्माण गर्न सिंकोस हाइड्रोपावर प्रालिले विभागमा दरखास्तका पेस गरेको विभागले जनाएको छ । विभागकाअनुसार आंशिक जलाशयमा आधारित भएर बन्ने यो जलविद्युत आयोजनाबाट वार्षिक रुपमा सरदर २१.६७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
आयोजनामा उत्पादन हुने विद्युतलाई विद्युत गृह नजिकै आउटडोर स्वीचयार्ड निर्माण गरेर त्यसमार्फत १० किमि लामो ३३ केभि सिंगल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माणाधिक डाँडाखेत सबस्टेसनमा जडान गरिने छ ।
आयोजनालाई विसं २०८३ फाल्गुन ७ गतेसम्म सम्पनन गर्ने लक्ष्य राखिएको छ ।