असारको सुरुवातमै धान रोपाइँको व्यस्तता



ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुंगसाँघुका किसान रोपाइँ गर्दै । वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँको चटारो छ । तस्बिर: रासस

भक्तपुर । असार सुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसान रोपाईंमा व्यस्त हुन थालेका छन् । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यतिबेला किसान व्यस्त हुन थालेका हुन् ।

भक्तपुरको निकोसेरामा पनि यतिबेला किसान धान रोप्न व्यस्त छन् । उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाइँमा व्यस्त भएक हुन् ।

सामान्यत: असार १५ बाट रोपाइँ सुरु हुने भए पनि असारको पहिलो सातादेखि नै किसान रोपाइँको चटारोमा छन् । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असार १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएकाले वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाइँ भइसकेको छ ।

सिँचाइ अभावमा भक्तपुरमा धेरै अकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यो वर्ष अकासे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसान यो वर्ष धान रोपाइँ छिटो भएपछि खुसी भएका छन् ।

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेको उनीहरुको भनाइ छ । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले भने उनीहरुलाई सताएको छ ।


क्लिकमान्डु