वित्तीय क्षेत्रमा जस्तै रास्वपामा पनि सफल हुनेमा विश्वस्त छु



जीवनका ३१ वर्ष बैंकिङ क्षेत्रमा बिताएर एक वर्ष अघिदेखि नेतृत्व विकासका लागि काम गर्दै आएका अनिलकेशरी शाह असार ७ देखि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपाको सदस्यता लिएकै दिन उनलाई प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । अन्य विभिन्न नयाँ दल र पुराना ठूला दल नरोजेर रास्वपा र रोज्नुका कारण, रास्वपासँग मिलेको राजनीतिक सोच, विल्कुल नयाँ जिम्मेवारी लिँदाका अनुभवलगायतका विषयमा क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकानी:

बैंकिङ क्षेत्र छाडेर राजनीतिमा प्रवेश गर्नुभयो, पूर्णकालीन राजनीति सुरु गर्नुभएको हो ?

जीवनका ३१ वर्ष बैंकिङ क्षेत्रमा बिताउँदा १७ वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा बित्यो । नबिल बैंकबाट बिदा लिएपछि एक वर्षदेखि म लिभ नेपाल इन्क भन्ने संस्था स्थापना गरेर नेतृत्वको विकासको यात्रामा लागेको थिएँ । पसिना बगाउने र बुद्धि चलाउने नेपालीको कमी छैन । नेपालमा अहिले भएको अभाव भनेको नेतृत्वको नै हो । राजनीति मात्रै नभएर धेरै ठाउँमा नेतृत्वको अभाव छ । त्यही भएर नेतृत्व कसरी विकास गर्न सकिन्छ भनेर त्यो अभियानमा लागेको हुँ । यही अभियानमा देशभरि घुमिरहेको थिएँ । विभिन्न व्यत्तिको सहकार्यमा काम गरिरहेको थिएँ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीले मसँग कुरा गरेर सँगै अघि बढौँ, तपाईं पनि नेतृत्व विकास गर्न चाहनुहुन्छ, हाम्रो अभियान पनि त्यही हो भन्नुभयो । हामीले पनि नयाँ सोच बोकेर हिँडिरहेका छौं, तपाईंले पनि नयाँ सोच बोकेर हिँड्नुभएको छ भन्नुभयो । मलाई उहाँहरुको प्रस्ताव मन पर्‍यो ।

रास्वपा संघदेखि स्थानीय तहका वडा र टोल-टोलमा पुग्ने लक्ष्यका साथ अघि बढेको छ । देशका हरेक गतिविधिलाई नयाँ दिशामा लिएर जाऔँ भन्ने सोचका साथ अघि बढेको छ । यो सोच कार्यान्वयन गर्न राम्रो नेतृत्व आवश्यक पर्छ । त्यसका लागि केन्द्रमा मात्रै भएर हुँदैन । देशभर नै नेतृत्व आवश्यक छ । म जुन यात्रामा लागेको छु, जुन मेरो सोच छ, त्यो रास्वपासँग पनि मिल्यो । उहाँहरुले सहयात्रा गरौँ भन्नुभयो । त्यही भएर हिजोबाट रास्वपासँग सहयात्रा गरियो ।

यसलाई अझ प्रस्ट पारिदिनुस् न ! तपाईंको के सोच थियो, जुन रास्वपासँग मिल्यो ?

हामी कोही कसैले तिमीहरु यो हौ, तिमीहरु यसरी अघि बढ, यो किताब पढ भनेर भन्ने ठाउँ छैन । त्यो अवस्था पनि आउँदैन । हामी विशुद्ध नयाँ पार्टी हौँ । हामी त्यसैअनुसार नै अघि बढ्छौँ । हामी नेपाललाई केन्द्रमा राखेर अघि बढिरहेका छौं । हामीले अन्यत्रको कुनै विषय परीक्षण गर्न लागेका छैनौँ । हामी यसअघि कहीँ लेखेको कुरा पढ्नाले जहाँ छौँ, त्यहीँ रह्यौँ । अब हामीले नयाँ मार्ग तय गर्नु छ । अब नेपालीले नै नेपालका लागि देशको अर्थतन्त्र, राजनीति, व्यवस्थापन, कृषि, समाजलगायतका सबै क्षेत्रलाई समेटेर नयाँ किताब लेख्नु छ ।

अमेरिका अस्ट्रेलिया, युरोपसहित संसारभर फैलिनुभएका डाक्टर, इन्जिनियरलगायत सकेर काम गरिरहनुभएको छ, अब त्यो बुद्धि अलिकति नेपाल आमालाई पनि परिचालन गरिदिनुस् । हामी थिंक ट्याकहरु बनाउँछौं, हामी त्यहाँ यहाँहरुलाई पनि अवसर दिन्छौं ।

त्यो अन्यत्र होइन नेपालमा नै लेखिनुपर्छ । मेरो यही सोच थियो । रास्वपाको पनि यही सोच भयो । हाम्रो सोच मिल्यो । उहाँहरुले ‘हामी देशका लागि नयाँ किताब लेख्दै छौं, आउनुहोस् अनिल जी कलममा मसी मिलाऔँ सँगै लेखौँ, नेपाललाई सुहाउने खालको, नेपालको अर्थतन्त्र मिल्ने, नेपालको कृषि मिल्ने, नेपाली समाजमा मिल्ने, नेपालका हरेक क्षेत्रमा मिल्ने किताब लेखौं’ भनेपछि मलाई त्यो धेरै मन पर्‍यो । मलाई नयाँ-नयाँ काम गर्न मन पर्छ । मलाई अरुले हिँडेको बाटोमा हिँड्नुभन्दा आफैँ बाटो बनाएर हिँड्न औधी मनपर्छ । त्यसमा मेरो र रास्वपाको सोच मिलेको हो ।

नागरिक उन्मुक्ति र  जनमतसहितका नयाँ सोचसहितका नयाँ दल र अन्य ठूला दल पनि थिए । उहाँहरुलाई त विश्वास गर्नु भएन । रास्वपा नै रोज्नुको खास अरु कारण पनि छ कि !

उनीहरुमाथि विश्वास नलागेको होइन । उहाँहरुसँग धेरै विज्ञ भएका कारण यो अनिल शाह चाहिँदैन भनेर उहाँहरुले सोच्न भयो होला सायद । किनेभने कुनै पनि सहयात्रा गर्ने हो भने हामी दुवै सँगै हिँडौं भन्नु पर्‍यो नि त ! एउटाले अर्कोलाई लतार्दै गएर वा एउटाले अर्कोको बुई चढेर सँगै जाऊँ भनेर मात्र त भएन । दुबै पार्टीले सहयात्रा गरौं भने पो हुन्छ त !

मैले एक महिना होइन, एक वर्षदेखि यो कार्यक्रम गरिरहेको थिएँ । यो लुकेर-छुपेर गरेको कुरा होइन । कतिपय मिडियामा पनि आयो । अनिल शाह काठमाडौंमा मात्र होइन, देशव्यापी घुमिरहेको छ भन्ने आएको थियो । सहयात्रा गरौं भनेर त भन्नुर्‍यो । सहयात्रा गर्ने भनेपछि त विचार पनि त मिल्नुपर्‍यो । नमिलेर सहयात्रा गर्न पनि गाह्रो हुन्छ । मैले उहाँहरुलाई नपत्याएको होइन । मानिसले भन्छन् नि तपाईंले हुन्डाई किन्नुभएछ टोयोटामा तपाईंको विश्वास छैन भन्ने हुँदैन । मलाई चाहिँ यो हुन्डाई मन परेको जस्तो कुरा हो यो । मैले अरुमाथि विश्वास गर्ने नगर्ने कुरा रहेन । म त मेरो एउटा कार्यक्रम बनाएर अघि बढ्न खोजिरहेको छु ।

ठूला-ठूला पार्टीहरु छन्, धेरैले धेरै लामो समयदेखि योगदान गरिरहनुभएको छ । नेपाली जनताले लामो समयदेखि विश्वास गरिरहनुभएको छ । संविधानसभाबाट संविधान लेख्नुभएको छ । त्यतिबेला हामी थिएनौं । आउने दिनमा हामीलाई लाग्यो, एउटा नयाँ सोचले अघि बढ्ने हो कि ? त्यो सोच अनिल शाहलाई मात्र होइन, जुन किसिमले चुनावका नतिजा आइरहेका छन्, स्वर्णिमजीको या रविजीको होस्, नेपाली जनताको सोच पनि अलिकति मिलेको हो कि भन्ने देखिएको छ ।

पार्टी प्रवेश गरेकै दिन प्रशिक्षण विभागजस्तो महत्वपूर्ण जिम्मेवारी पाउनुभयो, तपाईंलाई नै कुरेर बसेको जस्तो, रास्वपाले यसअघि तपाईंजस्तो काविल मानिस नपाएको जस्तो लागेन ?

मलाई कसैले कहिले कुरेको होइन । म नहुँदा पनि रास्वपाले देशलाई धेरै योगदान दिइसक्यो । म आइसकेपछि अझै सँगै अलि अगाडि बढ्न सक्छौं कि भन्ने लागेको छ । अनिल शाहलाई जति रास्वपा चाहिएको थियो, रास्वपालाई पनि अनिल शाह त्यति नै चाहिएको थियो होला । नेतृत्वको विकास गर्ने जुन अभियानमा म अघि बढेको थिएँ, त्यसका लागि एउटा प्ल्याटफर्म चाहिएको थियो । रास्वपा एउटा प्ल्याटफर्म पनि हो किनकि रास्वपामा २०-३० वर्ष काम गरेँ भन्ने कोही पनि छैन । सबै नयाँ आउने हो । प्रशिक्षण विभाग भनेको टुप्लुक्क अनुहार मात्र देखाउने भएको भए अनिल शाह हुने थिएन होला । त्यहाँ त अनिल शाहले मात्र होइन, रास्वपामा आउन चाहने सबैले गर्ने हो । मैले राति बसेर किताब लेखेर यही हो किताब भन्ने होइन, यो भ्रममा नपर्नु होला । सबैले सँगै बसेर किताब लेख्ने हो ।

धेरै सन्तान भए पनि माया जेठो, माइलो, साइँलो, काइँलोअनुसार बढीघटी हुँदैन । सबैको समान हुन्छ । म चाहिँ जेठो, मेरो चाहिँ आमा धेरै भन्ने कहिले पनि हुँदैन । त्यही भएर नेपालका छोराछोरी भएपछि देशमा भए पनि बाहिर भए पनि आमा भनेको आमा हो । त्यसैले आमालाई राम्रो बनाउने बहसमा भाग लिने हक सबैमा छ । बहस भइसकेपछि एउटा ठाउँमा पुगिन्छ ।

जीवनको ऊर्जाशील समय एक प्रखर बैंकरको रुपमा बिताउनुभयो । बेग्लै पहिचान बनाउनुभएको छ । राजनीतिमा पनि त्यतिकै सशक्त रुपमा स्थापित हुन सक्छु भन्ने लागेको छ ?

म प्रस्ट पार्न चाहन्छु, वित्तीय क्षेत्रमा मैले पसिना बगाएर र बुद्धि चलाएर मात्र होइन, जो मान्छेसँग मैले काम गर्ने अवसर पाएँ, उहाँहरुसँग राम्रो सहकार्य गरेर बनेको हुँ । राजनीतिमा पनि म त्यही चाहन्छु । जुन लिडरसिपको भिजन रास्वपामा ल्याउन चाहिरहेका छौं, सँगसँगै काम गर्दा गर्न नसक्ने केही छैन ।

मैले हिजो पनि भनेको थिएँ । पृथ्वीनारायण शाहले गोरखा छाडेर म एउटा नेपाल बनाउँछु भन्दा यसले के गर्ला र भन्ने मान्छेहरु थुप्रै थिए होलान् । कुनै बेलाचाहिँ नेपालमा हामी संविधान ल्याउँछौं, गणतन्त्र ल्याउँछौं भन्दा पनि यिनीहरुले के गर्लान् र भन्ने पनि थुप्रै थिए । आज पृथ्वीनारायण शाहले नेपाल पनि बनाए र संविधानसभा भएरबाट नेपाली जनताले एउटा नयाँ संविधान पनि बनाए, गणतन्त्र पनि ल्याए । त्यसकारण हामी रास्वपाले गर्न सक्दैन भनेर भ्रममा नबसौं ।

अब रास्वपाले देशको वित्तीयय क्षेत्रको सन्दर्भमा कस्तो खालको रणनीति लिन्छ ? प्रशिक्षण विभागमा हुनुहुन्छ, यसमा रास्वपाको भूमिका के हुनसक्छ ?

एउटा के प्रस्ट छ भने रास्वपा एउटा क्षेत्रका लागि राजनीतिक दल बनेको होइन । हामी सबै नेपाली सबै क्षेत्रका लागि बनेका हौं । डा. स्वर्णिम वाग्लेजी हुनुहुन्छ । मनिष झा हुनुहुन्छ । ऋषिजी हुनुहुन्छ । डा. तोसिमा हुनुहुन्छ । अहिले नै हेर्नुहोस्, विज्ञहरु कति छन् हाम्रोमा । विज्ञहरु रास्वपामा छन्, अरु ठाउँमा छैनन् भन्ने होइन । अरु ठाउँमा पनि छन् । तर, उहाँहरुको विज्ञता धेरै वर्ष राजनीतिक दलमा बसेर विज्ञ हुनुभएको खालको छ । अहिलेका युवा विज्ञहरु त्यहाँ ठाउँ नभएको भएर पनि रास्वपामा आउनुभएको छ । मैले अघि पनि भनेँ अनिल शाहलाई एउटा प्ल्याटफर्म दिएजस्तै अरु विज्ञहरुलाई पनि जो नेपालमा हुनुहुन्छ, जो विदेशमा हुनुहुन्छ, एउटा प्ल्याटफर्म पाएर मेरो नेपाल आमालाई मैले केही योगदान गर्न सक्छु भनेदेखि यो ठाउँमा मेरो कुरा सुनिन्छ है भनेर भन्नुभयो भने सबैजना आउन चाहनुहुन्छ नि ! तर, एकदम क्लोज हुनुपर्ने, क्याडर हुनुपर्ने, यो र त्यो भन्यो भने कमै मात्र मान्छे आफ्नो जिन्दगी नै छाडेर अघि बढ्छन् होला ।

रास्वपाको सोच अलिक फरक छ । हिजोको कार्यक्रममा पनि देख्नुभयो होला, सबै स्वयंसेवकहरुले नै चलाइरहेका थिए । यही किसिमले पार्टी देशभरि चल्ने हो । सोच अलिकति फरक हुन्छ, हुनसक्छ । प्रशिक्षण विभागको नेतृत्व लिएर म एकदमै उत्साहित भएको कारण पनि त्यही हो ।

रास्वपाको सोच अलिक फरक छ । हिजोको कार्यक्रममा पनि देख्नुभयो होला, सबै स्वयंसेवकहरुले नै चलाइरहेका थिए । यही किसिमले पार्टी देशभरि चल्ने हो । सोच अलिकति फरक हुन्छ, हुनसक्छ । प्रशिक्षण विभागको नेतृत्व लिएर म एकदमै उत्साहित भएको कारण पनि त्यही हो । अरुले धेरै गरिसकेको काम गर्दा आठ-दशको फरक गर्न सकिएला तर नयाँमा त्योभन्दा धेरै नै गर्न सकिन्छ । कुनै बेलामा मेघा बैंकले हलोदेखि हाइड्रोसम्म भन्दा सबैले अहो के भनेको यस्तो भनेका थिए । अहिले रास्वपा त्यही अवस्थामा छ । पार्टीका रुपमा रास्वपा एउटा स्टार्टअप हो । स्टार्टअपमा धेरै अवसर पनि हुन्छन्, धेरै जोखिम पनि हुन्छ ।

हिजो मैले धेरै मान्छे भेटेँ । अनुभवी मान्छेहरु भेटेँ । देशमा धेरै वर्ष ब्युरोक्रेसीमा काम गरिसक्नुभएका, सुरक्षा निकायमा काम गर्नुभएका मान्छेहरु हुनुहुन्छ । तर, उहाँहरुलाई कहिल्यै पनि कसैले पनि सोधेको छैन । तर, रास्वपाले सोधिराखेको छ । त्यही भएर मैले स्पष्ट भनेँ रास्वपा युवाको पार्टी होइन, रास्वपा नेपालीको पार्टी हो । तपाईंको कपाल सेतो छ, तपाईं रास्वपामा किन आउनुभएको भन्ने अधिकार कसैलाई पनि छैन । कपाल सेतो होस् या कपालै नहोस् त्यो रास्वपाको मेम्बर बन्नु । हामीलाई जुन इनर्जी युवामा छ, त्यो इनर्जी पनि चाहिन्छ ।

लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभयो । हिजोदेखि अहिलेको सशक्त पार्टीमा प्रवेश गर्नुभयो र महत्वपूर्ण भूमिकामा पनि पाउनुभयो । बेलुका ओछ्यानमा पल्टिएर सिलिङतिर हेर्दा कस्तो अनुभव भयो ?

सत्य भन्ने हो भनेदेखि हिजो राति सुत्दाखेरि एक एकदम एक्साइडेट पनि थिए । अलिकति डर पनि लागेको थियो ।

डरचाहिँ किन ?

मेरा लागि यो विल्कुल नयाँ क्षेत्र हो । एउटा अर्को बैंकको सीईओ भएको भएदेखि त आनन्दले गइन्थ्यो, गरिन्थ्यो । तर, यहाँ फरक छ । फेरि यो एउटा वित्तीय संस्था हाँकेजस्तो र त्यो वित्तीय संस्थाको सेयर होल्डर, डिपोजिट र टिम हरेजस्तो होइन । राष्ट्रिय पार्टी, त्यो पनि राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो नेपालको अहिलेको सोच समातेको पार्टी, त्यसको पनि प्रशिक्षण विभाग र त्यसलाई पहिचान गर्ने र लेख्ने एउटा जिम्मेवारी लिएपछि दबाबमा हुनु त स्वाभाविक भयो नि । भन्छ नि यस्तो सपना देख्नु त्यो सपनाले तिमीलाई राति सुत्न दिँदैन । मेरो यो सपना त्यस्तै छ । हिजो राति अलिकति सुत्न नदिएको हो यो सपनाले ।

गर्व पनि महसुस भइरहेको हो ?

गर्व त भइहाल्छ नि ! किनभने यति वर्ष बैंकिङ क्षेत्रमा काम गरेर एउटा नयाँ पार्टीले स्वागत गरेर आउनुस्, हामीसँग बस्नुस्, सँगै काम गरौं भनेर यत्रो जिम्मेवारी दिएपछि गर्व त भइहाल्छ । जब कुनै संस्था या मान्छेले नै एकदमै ठूलो विश्वास गर्छ र अवसरहरु दिन्छ भने सबैभन्दा ठूलो सम्पत्ती पनि त्यही हो जस्तो लाग्छ ।

तपाईं रास्वपा प्रवेश गर्दैगर्दा धेरैले ठूलो अवसर पाउँछु भनेर अनिल केसरी त्यहाँ गएको भनेर टिप्पणी गरिरहेका थिए, यसलाई कसरी लिनुहुन्छ ?

यो एकदम ठिक हो । डेफिनेट्ली ठिक हो । अवसर नभएको भए अनिल शाह आउँदैन थियो होला । त्यसो नभएको भए रास्वपाले पनि यो अवसर दिँदैन थियो होला । कुनै पनि पार्टनरसिपमा चाहे त्यो विवाहको होस् या कुनै पनि संस्थाको पार्टनरसिपमा दुवै पार्टनरलाई फाइदा छ भनेमात्र त्यो पार्टनरसिप अघि बढ्छ । एउटाले मात्र सबै पाउने अर्कोले केही नपाउने भएपछि त्यो पार्टनरसिप अघि बढ्दैन । त्यसैले जो-जो मित्रले भन्नुभयो, मौका देखेर नै यो चौका हान्न आएको हो भन्ने । चौका होइन, छक्का नै हान्न आएको हो, आफूलाई मात्र होइन, रास्वपा र सँगसँगै नेपाल आमालाई पनि लिएर जाने भनेर आएको हो ।

माया गर्नुस् जरुर माया गर्नुस् । मायाले मात्र पुग्दैन पसिना बगाएर दाजुभाइले रेमिट्यान्स पठाइरहनुभएको छ र त्यसले देश चलिरहेको छ, सबैलाई थाहा छ र अब म भन्छु पसिना बगाउने होइन अब बुद्धि चलाउने हो । अमेरिका अस्ट्रेलिया, युरोपसहित संसारभर फैलिनुभएका डाक्टर, इन्जिनियरलगायत सकेर काम गरिरहनुभएको छ, अब त्यो बुद्धि अलिकति नेपाल आमालाई पनि परिचालन गरिदिनुस् । हामी थिंक ट्याकहरु बनाउँछौं, हामी त्यहाँ यहाँहरुलाई पनि अवसर दिन्छौं । त्यसलाई यहाँहरुले हुन्छ मेरो हप्ताको दुई तीन घण्टा कति हुन्छ त्यति समय नेपालको विकासका लागि छलफल वा अन्य विषयमा खर्च गर्न सक्छु भनेर अघि बढिदिनु होला । पसिना बगाउने दाजुभाइ, दिदीबहिनीहरुले लामो समयदेखि रेमिट्यान्सबाट देश बनाउन सहयोग गरिरहनुभएको छ, अब बुद्धि चलाउनेहरुले पनि देशका लागि माया गरिदिनुस् ।


सोभित थपलिया