सरकारले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्नु पर्छः देवेन्द्र पौडेल
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्े ।
सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उनको तर्क थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले सरकारले दुई पटक आफैंले गरेको प्रतिवद्धता अनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्ति समेत जनाए ।
विद्यालयका कर्मचारीहरुले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्याउन माग गर्दै आईरहेका छन् । सांसद पौडेलले उनीहरुको सो माग सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।
सांसद पौडेलले शिक्षक र त्यहाँ कार्यरत कर्मचारीको न्यूनतम माग पनि सम्बोधन सरकारले नगर्ने हो भने विद्यालय सुधार अभियान अगाढि बढनै नसक्ने समेत स्मरण गरे ।