इन्टरनेट स्लो भए वर्ल्डलिंकले पैसा फिर्ता दिने, कसरी गर्ने दाबी ?



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले इन्टरनेटको गति कम भएमा पैसा फिर्ता दिने सुविधा ल्याएको छ । वर्ल्डलंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको हो ।

ग्राहकले शर्तअनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने वर्ल्डलिंकले जनाएको छ । नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच यस्तो सुविधा ल्याउने वर्ल्डलिंक पहिलो हो ।

आफूहरुले उपलब्ध गराएको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको वर्ल्डलिंकले जनाएको छ ।

अरु इन्टरनेट सेवा प्रदायकहरु मूल्यको प्रतिस्पर्धामा रहेको बेला गुणस्तरिय सेवालाई प्राथमिकता दिएको वर्ल्डलिंकको भनाइ छ।

स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्तालाई मनी ब्याक ग्यारेन्टी

वर्ल्डलिंकका ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् । जसमा ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने छन् ।

हाललाई यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन । उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन्। यो सुविधा दिनकालागि कम्पनीले थप प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ ।

कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?

ग्राहकको इन्टरनेट स्पिड स्लो हुने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन । स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय, वा अनलाइन सेवा बाट जानकारी गराउनु पर्ने कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउछ, इन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्छन् । तथापी स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तरगत पैसा फिर्ता माग गर्न सक्ने वर्ल्डलिंकले जनाएको छ ।

रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवास्था गरेको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएको ग्राहकले २५ दिन चलाई सकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउने वर्ल्डलिंकले जनाएको छ ।

कसले दाबी गर्ने ?

इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तरगर्त आफ्नो गुनासो दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुने वर्ल्डलिंकले जनाएको छ ।

५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर

वर्ल्डलिंकले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ। जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्छन् । जसमा देशभरका सबै मुख्य शहरहरुमा पर्छन्। वर्ल्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउने जनाएको छ ।

वर्ल्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ। २७ वर्षदेखि आफ्नो उपस्थिती जनाएको वर्ल्डलिंकको पहुँच ७४ जिल्लामा पुगिसकेको दाबी कम्पनीको छ ।


क्लिकमान्डु