बालेनले प्राधिकरणलाई जवाफ नदिने, स्पष्टीकरण पत्र बदरको माग गर्दै अदालतमा निवेदन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् ।

प्राधिकरणले असार १ गते सात दिनभित्र स्पष्टीकरण पेस गर्न बालेनसहित महानगरका तीन पदाधिकारीहरुलाई पत्र काटेको थियो ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गरिरहेको अवस्थामा प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने जिकिर गर्दै मेयर शाह उच्च अदालत पाटन पुगेका हुन् ।

बालेनसहित महानगरको वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारी, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले प्राधिकरणले सोधेको स्पष्टीकरणपत्र बदर गर्नु पर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थनभित्र लगाएको तारबार महानगरले काटेको भन्दै प्राधिकरणले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।

महानगरले स्पष्टीकरण नदिइ प्राधिकरणले काटेको पत्र बदर हुनु पर्ने माग गर्दै बुधबार उच्च अदालतमा निवेदन दिएको हो । महानगरले उच्च अदालतमा दायर गरेको निवेदनमा नक्सा पास नगरी प्राधिकरणले फेन्सिङ कार्यका लागि फलामे एङ्गलसहित तार जाली जडान गरेको हुँदा महानगरबाट खटिएको टोलीले गैरकानुनी कामलाई रोकथाम र नियन्त्रण गर्न प्रयास गरेको उल्लेख छ । गैरकानुनी काम नियन्त्रण गर्नु महानगरको अधिकार भएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने निवेदनमा उल्लेख छ ।


क्लिकमान्डु