११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँको आयात, गत वर्षभन्दा १६ प्रतिशत कम



काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँको सामान आयात भएको छ ।

भन्सार विभागले तयार गरेको प्रारम्भिक तथ्यांक अनुसार यो वर्ष जेठ मसान्तसम्ममा गत वर्षभन्दा १६ प्रतिशत कम आयात भएको हो । गत वर्ष जेठ मसान्तसम्ममा १७ अर्ब ६३ अर्ब रुपैयाँको आयात भएको थियो ।

चालू आर्थिक वर्षको ११ महिनामा १६ प्रतिशतले आयात घट्दा राजस्व संकलन २३ प्रतिशतले घटेको हो । भन्सार विभागले चालू आर्थिक वर्षको ११ महिनामा ३ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष ११ महिनामा ४ खर्ब ६२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्का बढी राजस्व संकलन हुने सामानको आयात घटेकाले राजस्व प्रभावित भएको बताउँछन् ।

चालू आर्थिक वर्षमा निजी कार, मोटरसाइकल, पेट्रोलियम पदार्थ, ट्रक, पिक अफ भ्यान, एमएस बिलेट, लत्ताकपडा लगायतका सामानको आयात घटेको छ ।

भन्सार विभागका अनुसार जेठ महिनामा मात्रै १ खर्ब ४५ अर्ब रुपैयाँको आयात भएको हो । बैशाख मसान्तसम्म १३ खर्ब ३५ अर्ब रुपैयाँको आयात भएको थियो ।

चालू आर्थिक वर्षको ११ महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँको निर्यात भएको छ । गत वर्ष जेठ मसान्तसम्म १ खर्ब ८६ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

भारततर्फ निर्यात हुने सोयाबिन र सनफ्लावर तेलको निर्यात घटेपछि यो वर्षको ११ महिनामा गत वर्षभन्दा २३ प्रतिशतले निर्यात घटेको हो।


क्लिकमान्डु