आभोकाडोबाहेक तरकारी र फलफूलको मूल्य घट्न थाल्यो, आभोकाडोको मूल्य हालसम्मकै उच्च



काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि महंगिएको तरकारी तथा फलफूलको मूल्य घट्न थालेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै भ्याट छुट खारेज गरेको थियो । सरकारले भ्याट छुट खारेज गरेको हप्ता दिनमै तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको थियो । तर, पछिल्लो हप्तामा तरकारी र फलफूलको मूल्य घट्न थालेको छ ।

सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ती वस्तुमा दिँदै आएको छुट खारेज गरेको घोषणा गरेका थिए ।

सरकारले प्याज र शालौट, केराउ, आलु, केराउहरु, बोडीहरु, पालुंगो न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ ।

सरकारले तरकारीसहित आभोकेडो, स्याउ, नास्पाति, क्विन्स (श्रीफल), खुर्पानी, चेरीहरु, अमिलो चेरीहरु, स्ट्रबेरी, रैस्पबेरी, ब्ल्याकबेरी, मलबेरी र लोकानबेरी, कालो, सेतो वा रातो किसमिस वा दाख वा मुनक्का र गुस्बेरीहरु, क्रेनबेरी, बिलबेरी, अन्य भ्याक्सिननियम जातिका फलहरुको छुट भ्याट खारेज गरेको थियो । उक्त व्यवस्थापछि हप्तादिनमै प्याजको मूल्य दोब्बर बढीले मूल्य बढेको थियो भने अन्य तरकारी तथा फलफूलको मूल्य पनि बढेको थियो ।

बजेट घोषणा गरेको दिन अर्थात् जेठ १५ गते कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यअनुसार सुकेको प्याजको मूल्य प्रतिकिलो औसत मूल्य ३५ रुपैयाँ तोकेको थियो ।

गत हप्तासम्म उक्त प्याज बजारमा प्रतिकिलो एक सय रुपैयाँदेखि १२५ रुपैयाँसम्म बिक्री भएको थियो । जसले गर्दा बजारमा प्याजको कालोबजारी भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

समितिले गत जेठ २१ गते सुकेको प्याजको मूल्य प्रतिकिलो ५१ रुपैयाँ तोकेको थियो । त्यसपछि भने समितिले प्याजको मूल्य तोकेको थिएन । तर, पछिल्ला दिनहरुमा आयात सहज भएसँगै समितिले मूल्य राख्न थालेको छ ।

त्यस्तै, बजारमा प्याजको आपूर्ति सहज भएसँगै समितिले आज सुकेको प्याजको औसत मूल्य प्रतिकेजी ५१.२० रुपैयाँ तोकेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले बजेटपछि व्यावसायीहरुले प्याज, आलु आयात गर्न छोडेका थिए । तर, सोमबारदेखि प्याज र आलु आयात हुन थालेपछि बजार सहज भएको बताए ।

उनकाअनुसार अहिले बजारमा दैनिक प्याज र आलु भित्रिएसँगै भ्याट खारेज गरेका वस्तुको मूल्य निरन्तर घट्नेछ । साथै, बजारमा अभाव हुने छैन ।

त्यस्तै, सरकारले लसुनको पनि भ्याट खारेज गरेको थियो । सुकेको चाइनिज लसुनको मूल्य प्रतिकेजी २४५ रुपैयाँ तोकेको थियो । त्यसयता गत जेठ २८ गते घटेर प्रतिकेजी २२८ रुपैयाँमा बिक्री वितरण भएको थियो । अहिले घटेर प्रतिकेजी २२० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

यता आलुको मूल्य पनि घटेको छ । बजेटको दिन औसत प्रतिकेजी ३१ रुपैयाँमा बिक्री भएको भारतीय रातो आलु जेठ २८ गते ४०.५० रुपैयाँ पुगेको थियो । अहिले घटेर औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, स्याउको मूल्य पनि घटेको छ । बजेट घोषणा गरेको दिनमा औसत प्रतिकेजी २६६ रुपैयाँ रहेको स्याउको मूल्य गत जेठ २८ गते प्रतिकेजी ३ सय रुपैयाँ पुगेको थियो । तर, अहिले घटेर २९० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

आभोकाडोको मूल्य हालसम्मकै उच्च

भ्याट खारेजले गर्दा आभोकाडोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अधिकतम ६ सय रुपैयाँसम्म कायम भएको आभोकाडोको मूल्य भ्याट खारेजको करिब तीन हप्तामा २ सय रुपैयाँले बढेको छ ।

गत बजेट घोषणा गरेको दिन आभोकाडाको प्रतिकेजी औसत मूल्य ४५० रुपैयाँ तोकेको थियो । त्यसपछि बढेर जेठ २८ गतेसम्म आइपुग्दा एक सय रुपैयाँले बढेर ५५० रुपैयाँ कायम भएको थियो । अहिले सोही आभोकाडो प्रतिकेजी एक सय रुपैयाँले बढेर अधिकतम मूल्य ७ सय रुपैयाँ तोकेको छ भने औसत मूल्य ६५० रुपैयाँ कायम भएको समितिले उल्लेख गरेको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

‘नेपालमा आभोकाडो दैनिक उपभोग्य वस्तु नभएकाले सिमित वर्गमा लक्षित छ । उत्पादन र खपत निकै कम भएको अवस्थामा आभोकाडोको मूल्य वृद्धिले आम उपभोक्तालाई असर पर्ने छैन,’ उनले क्लिकमान्डुसँग भने ।

नेपालमा आभोकाडो सीमित वर्गले मात्रै खाँदै आएका छन् । उत्पादनसँगै खपत पनि कम हुने आभोकाडो नेपालले अफ्रिकी मुलुकबाट आयात गरी आप्रर्ति गर्दै आएका छन् । नेपालले वार्षिक ८ करोडभन्दा बढी मूल्यको आभोकाडो आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले गत आर्थिक वर्षमा ८ करोड १ लाख रुपैयाँको २ लाख ८४ हजार केजी आभोकाडो आयात गरेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले ६ करोड २३ लाख रुपैयाँको १ लाख ८५ हजार केजी आभोकाडो आयात गरेको देखिन्छ । नेपालले युगान्डा र केन्याबाट मात्रै आयात गरिरहेको विभागले जनाएको छ ।


क्लिकमान्डु