भित्री कारोबारमा मुद्दा खेपिरहेका गुरु न्यौपाने इप्पानको सल्लाहकार नियुक्त



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भित्री कारोबारमा मुद्दा खेपिरहेका रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई वरिष्ठ ऊर्जा उद्यमीको उपमासहित सल्लाहकार नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले भित्री कारोबार गरेको पुष्टि गर्दै न्यौपानेलाई १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको अध्यक्ष वा सञ्चालक हुन रोक लगाउनुका साथै ७५ हजार जरिवाना गरेको व्यक्तिलाई इप्पानले सल्लाहकार नियुक्त गरेको हो ।

भित्री कारोबार गरेको अभियोगमा धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा विचाराधीन छ । न्यौपानेले रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेका बेला सोही कम्पनीको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।

निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको हो । पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, सांसद दीपक खड्का, सांसद एलपी साँवा लिम्बू, इप्पानका पूर्वउपाध्यक्ष कुमार पाण्डे, पूर्वसांसद डेढराज खड्काका साथै वरिष्ठ ऊर्जा उद्यमीहरू न्यौपाने, ई. भानु पोखरेल, वीरेन्द्रबहादुर न्यौपाने, बटु लामिछाने र पुष्पज्योति ढुंगानालाई सल्लाहाकार समितिको सदस्य नियुक्त गरिएको छ ।

यसैगरी ऊर्जा उद्यमीहरु केशवबहादुर रायमाझी, अर्जुनप्रसाद गौतम, शुशील थापा, अनुप आचार्य, ध्रुवप्रसाद उप्रेती, जगत पोखरेल, कृष्ण आचार्य, मनोज गोयल, सुनिल केसी र इन्दिरा पन्तलाई पनि इप्पानको सल्लाहकार नियुक्त भएका छन् ।

इप्पान विधानको परिच्छेद ९ को धारा १ अनुसार इप्पानमा २१ सदस्यीय सल्लाहकार समिति गठन गर्न सक्ने व्यवस्था छ । असार १ गते बसेको इप्पान कार्यसमिति बैठकको निर्णयअनुसार सल्लाहकार नियुक्त गरिएको अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

विधानअनुसार सल्लाहकार समितिका सदस्यले समितिको बैठकमा उपस्थित भई आवश्यक परामर्श दिन सक्नेछन् भने बाँकी सल्लाहकारको काम कर्तव्य र अधिकार कार्यसमितिले तोकेबमोजिम हुनेछ ।

यसैगरी ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका विज्ञहरू रहने एक छुट्टै विज्ञ सल्लाहकार समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।


क्लिकमान्डु