आजदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही



काठमाडौं । सडक विभागले आजदेखि (असार १) भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ ।

विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।कार्यालयले सबै सडक डिभिजन कार्यालयअन्तर्गतका सडकहरू असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो ।

कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।

स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा कानुनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ।

यसअघि आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि सडक खन्ने होडबाजी चल्ने गरेको थियो ।


क्लिकमान्डु