बिरोधीहरुको एकाउन्ट बन्द गर्न नमानेपछि मोदी सरकारले दिएको थियो भारतमा ट्विटर बन्द गर्ने धम्की



काठमाडौं । भारत सरकारले ट्विटरलाई बन्द गर्ने धम्की दिएको खुलासा भएको छ ।

ट्विटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले भारत सरकारले किसान आन्दोलनका क्रममा ट्विटरलाई बन्द गर्ने धम्की दिएको खुलासा गरेका छन् ।

डोर्सीले भारत सरकारले सरकारको आलोचना गर्ने कैयौं त्यस्ता पत्रकारहरुको एकाउन्ट बन्द गर्न भनेको बताए । उनले भारत सरकारले भनेअनुसारको नगरेमा ट्विटरलाई भारतमा बन्द गर्ने धम्की आएको खुलाएका हुन् ।

भारत सरकारले डोर्सीले आफूमाथि लगाएको आरोपलाई भने खारेज गरेको छ । भारतका विद्यूत तथा प्रविधि राज्य मन्त्री राजीव चन्द्रशेखवरले एक बयानमा भारतमाथि ट्विटरले आफूमाथि लगाएको आरोपलाई खारेज गरेका हुन् । उनले भारतमा न ट्विटरको कार्यालयमा छापा मारिएको न कसैलाई जेल पठाउने काम भएको बताएका छन् ।

यता डोर्सीले लगाएको आरोपपछि भने भारतमा अभिव्यक्ति स्वतन्त्रता र सरकारको कदमको बारेमा प्रश्नहरु उठ्न थालेका छन्।

गत सोमबार डोर्सीले ब्रेकिङ पोइन्ट नामक एक युट्युब च्यानलमा दिएको अन्तर्वातामा भारतले धम्की दिएको भन्ने विषयबारे बताएका थिए । डोर्सीसँग ‘शक्तिशाली व्यक्तिहरु’ले गर्ने मागहरुको विषयमा प्रश्न गरिएको थियो । यो प्रश्नमा भारतको जिकिर थिएन । तर, डोर्सीले भने किसान आन्दोलनका क्रममा भारत सरकारले आफ्नो देशमा ट्विटरलाई बन्द गर्ने धम्की दिएको बताएका थिए ।

‘संसारभरमा शक्तिशाली मानिसहरु तपाईंसँग आउँछन् र कैयौं किसिमका मागहरु गर्छन । तपाईं नैतिक सिद्धान्त भएको मान्छे हो । यस्तो अवस्थाबाट कसरी निस्किनुहुन्छ?’, डोर्सीसँग सोधिएको प्रश्नमा भनिएको थियो ।

यो प्रश्नको जवाफमा डोर्सीले भनेका थिए, ‘यो बारेमा भन्दा भारत एउटा यस्तो देश हो, जहाँबाट किसान आन्दोलन भइरहँदा हामी कहाँ धेरै किसिमका मागहरु आएका थिए । केही खास पत्रकार सरकारका आलोचकहरु थिए, उनीहरुलाई लिएर विभिन्न किसिमका मागहरु भएको थियो । एक किसिमले हामीलई भारतमा ट्विटर बन्द गरिनेछ भन्ने धम्की दिइएको थियो । भारत हाम्रो लागि ठूलो बजार थियो । आफ्ना कर्मचारीहरुको घरमा छापा मारिएको थियो, जुन उनीहरुले गरेका थिए । उनीहरुले हामीलाई हाम्रा कार्यालय बन्द गरिदिने धम्की पनि दिएका थिए । उनीहरुको कुरा नमानेमा ट्विटरलाई नै भारतमा बन्द गर्ने धम्की आएको थियो । यो सबै भारतमा भइरहेको थियो, जुन एक लोकतान्त्रिक देश हो ।’

भारतका विद्युत तथा प्रविधि राज्य मन्त्री चन्द्र शेखरले भने भारतमाथि लगाइएको यो आरोप आफूलाई सफा देखाउनका लागि डोर्सीले लगाएको आरोप रहेको बताएका छन् । उनले डोर्सीको नेतृत्वमा ट्विटर रहेको बेला उनका कर्मचारीहरुले भारतका नियमहरुको उल्लंघन गरेको र सन् २०२० देखि २०२२ सम्म भारतको कानुनको पालना नगरेको बताएका छन् । सँगै उनले कसैलाई पनि जेल पठाएको वा ट्विटर बन्द गर्ने विषय नै नगरेको पनि दाबी गरेका छन् । उनले भनेका छन्, ‘ट्विटरले यस्तो व्यवहार गरेको थियो, जुन भारतको कानुनअनुसार थिएन । भारत एक संप्रभुत्व राष्ट्र हो र हामीले आफ्नो अधिकार सुनिश्चित गर्ने कुरा छ । भारतमा काम गर्ने सबै कम्पनीहरुले भारतको कानुनको पालना गर्नुपर्छ ।’

चन्द्रशेखवरले किसान आन्दोलनको क्रममा धेरै नै भ्रामक समाचार र जनसंहारका कलोकल्पित रिपोर्टहरु ट्विटरमा राखिएको र त्यसलाई हटाउनका लागि भारत सरकराले कदम चालेको बताएका छन् ।


क्लिकमान्डु