पर्यटन क्षेत्रमा लगाइएका सबै नयाँ कर हटाउन व्यवसायीको माग
काठमाडौं । पर्यटन क्षेत्र सम्बद्ध संघ संस्थाले सरकारले आगामी वर्षबाट लगाउन खोजेको तीनवटा कर खारेज गर्न माग गरेका छन् ।
नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै पर्यटन क्षेत्रका संगठनहरूले आगामी वर्षदेखि सरकारले ५ तारे होटलमा लगाएको
विलाशीता कर, विदेश घुम्न जाने नेपालीलाई लगाएको वैदेशिक पर्यटन शुल्क र हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका छन् ।
होटल एशोसिएसन नेपाल(हान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा), ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल(टान), नेपाल पर्वतारोहण संघ(एनएएमए), नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज(नारा), हिमालयन उद्वार संघ नेपाल(एचआरए), नेपाल वायुसेवा संचालक संघ, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, गाउँ पर्यटन मञ्च नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, टुरिष्ट बस एशोसिएसन नेपाल, नेपाल एशोसिएसन अफ टुर अपरेटर, ठमेल पर्यटन विकास परिषद्, कैलास टुर अपरेटर्स एशोसिएसन अफ नेपाल लगायतका संस्थाले आगामी वर्षको बजेटबाट लगाएका कर खारेज गर्न माग गरेका हुन ।
लक्जरी कर लगाउँदा प्याकेज महँगो हुने र विदेशी पर्यटक निरुत्साहित हुने एसोसिएसनको भनाइ छ।
कार्यक्रममा नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा फ्लाइट भाडा महँगो भएको बताए । सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महँगो भएको बताए । सरकारले करका दर हेरफेर गर्दा केमा बढाउने र केमा घटाउने भन्ने कुनै छलफल बिना नै भ्याट बढाइएकोप्रति असन्तुष्टि जनाए ।
‘नेपालमा फ्लाइटमा आउन महंगो भएको छ । नेपाल हिजो सस्तो डेस्टिनेशनको कुरा गर्दथ्यौँ तर आज महँगो भइरहेको छ । सरकारले कुनमा भ्याट लगाउने के गर्ने भन्ने छलफल नगरी एकैपटक भ्याट बढाइएको छ । हाम्रो सिस्टम, कर्मचारी संयन्त्र नै अस्थिर छ, यसरी कसरी मुलुकले पर्यटनमा परिवर्तन गर्न सकिन्छ’ उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले सरकारले देशलाई लगिरहेको गतिले व्यवसाय सञ्चालन गर्न नसकिने बताए ।
उनले पर्यटन व्यवसायीहरुले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताए ।
‘सरकारले देशलाई जुन गतिमा लैजान खोजिरहेको छ । त्यो देखिँदैन । यसको आशय के बुझिन्छ भने तपाईहरुलाई व्यवसाय गर्नबाट वञ्चित गराउने र पलायन गराउने, व्यवसाय बन्द गराउने बाटोमा सरकार हिँडेको आभाष भएको छ । हामी ताल्चा साँचो सरकारलाई लगेर बुझाउने अवस्थामा पुगेका छौँ’ उनले भने ।
सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन्
। भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महंगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टुर तथा सफारी प्याकेज कम्तिमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरुको भनाइ छ ।
व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेश जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरिएको छ । पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।
आफूहरुको माग सरकारका विभिन्न निकायमा बुझाएको भन्दै व्यवसायीले माग सम्बोधन नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।