एमाले नेताहरुको हत्याको प्रयास भयो: एमाले सचिव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्ना दलका नेताहरुको हत्याको प्रयास भएको भन्दै गृहमन्त्रीसँग जवाफ माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सचिव योगेश भट्टराईले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन र त्यस क्रममा भएका घटनाहरुका सन्दर्भमा सरकारसँग जवाफ मागेका हुन्।
केही समय अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायतको शीर्ष नेतृत्वको टोली पूर्वको बिभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदा झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा गर्ने, कालो झण्डा देखाउने कार्य भएको उनले बताए ।
त्यसक्रममा कतिपय ठाउँमा एम्बुस समेत थापिएको भन्दै उनले एमाले नेताहरुको हत्याको प्रयास भएको भन्दै जवाफ माग गरे ।
‘केही ठाउँमा एम्बुस समेत थापिएको थियो । त्यसको मतलव हाम्रा नेताहरुको हत्याको प्रयास भएको थियो भन्ने स्वभाविक रुपमा भन्न सकिन्छ’ उनले भने ।