लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ मा



बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने भएको छ । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगे धारा, पोखरी आदि संरचनाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।

यसअघि जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिएका थिए ।

वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउनेछ ।

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म ३ किलोमिटर दूरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । भारतको गोरखपुर, लखनउलगायतका सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको उनको भनाइ छ ।

केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेसनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जिपलाइन निर्माणका क्रममा छन् । मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्छ ।

बटन स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसन पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।

केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।


क्लिकमान्डु