करिब ५० अर्ब लगानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने



काठमाडौं । सरकारले करिब ५० अर्ब रुपैयाँ लगानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङ वडा नम्बर ९ मा ३७६ मिलियन डलर अर्थात् आजको विनिमयदरअनुसार ४९ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा विश्वविद्यालय निर्माण गर्ने भएको हो ।

सरकारले सन् २०१९ मा विश्वविद्यालय स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो ।

सोही समितिले अहिले विश्वविद्यालय निर्माणका लागि वातावारणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार गरेको छ ।

सरकारले उक्त विश्वविद्यालय अनुसन्धानमुखी विश्वविद्यालयको रुपमा स्थापना गर्ने जनाएको छ । त्यस्तै, नयाा ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासका प्रत्यक्ष सहयोग पुर्याउने साधनको रुपमा विश्वविद्यालय विकास गर्ने लक्ष्य लिएको छ ।

सरकारले विश्वविद्यालय २ सयभन्दा बढी कोठामा विश्वविद्यालय निर्माण गर्ने प्रस्ताव गरेको छ । प्रतिवेदनअनुसार आयोजनाका लागि ५०.५२ हेक्टर जग्गाको क्षेत्रफल आवश्यक पर्ने उल्लेख गरेको छ । त्यसमा ४१.२९ हेक्टर क्षेत्रफल वन क्षेत्र हुने जनाएको छ।

प्रतिवेदनमा विश्वविद्यालय भवन २ लाख २३ हजार मिटर क्षेत्रफलमा बन्नेछ । जसमा शैक्षिक भवनहरु, कम्युनल भवन, छात्रावास, ६०७ कर्मचारीका लागि आवास, ४० कोठा भएको गेष्ट हाउस, २५ शय्याको अस्पताल र विद्यालय निर्माण गर्ने प्रस्ताव गरेको छ ।
उक्त विश्वविद्यालयमा ४ हजार विद्यार्थीले बढ्न पाउने पाउनेछन् ।


क्लिकमान्डु