कालोसूचीमा किन नराख्ने भन्दै १६ कम्पनीलाई स्पष्टीकरण माग
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १६ कम्पनीहरुलाई कालोसूचीमा किन नराख्नेभन्दै ७ दिने स्पष्टीकरण सोधेको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै विभिन्न सार्वजनिक निकायबाट यी कम्पनीहरुलाई कालो सूचीमा राख्न लेखि आएकाले कालोसूचीमा राख्न नपर्ने आधारप्रमाण भएमा लिखित रुपमा स्पष्टीकरण पेस गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।
कार्यालयले यसअघि पनि यी कम्पनीहरुलाई लिखित स्पष्टीकरण पेस गर्न ३० दिने सूचना पठाएको थियो । तर, हालसम्म पनि लिखित स्पष्टीकरण नआएका कारण ७ दिने सूचना प्रकाशित गर्दै कार्यालयले यी कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ ।
यसरी स्पष्टीकरण सोधिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुमा चितवनको नयाँ निर्माण सेवा, जनकपुरको नवनिर्माण विल्डर्स प्रालि, भक्तपुरको ब्लुवर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन, पुतलीसडकको इपिक कम्प्युटर्स ट्रेडर्स, पाँचथरको बुढाथोकी निर्माण सेवा, भरतपुरको समृद्ध निर्माण सेवा, चितवनको जय भगवती निर्माण सेवा, चितवनको शुभम् कन्स्ट्रक्सन, चौताराको एस कन्स्ट्रक्सन, सिन्धुलीको बिकेबि कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि, ललितपुरको चेतना/युकेएन जेभी र काठमाडौंको जोशी विज हाउस प्रालि रहेका छन् ।
७ दिनभित्र यी कम्पनीहरुले कार्यालयमा लिखित स्पष्टीकरण पेस नगरेमा वा आधार प्रमाणसहितको स्पष्टीकरण पेस नगरेमा कार्यालयले यीनिहरुलई कालोसूचीमा राख्नेछ ।