एप्पलले ल्यायो विश्वकै सबैभन्दा पातलो ल्यापटप, एआर-भिआर हेडसेट पनि सार्वजनिक



एजेन्सी । सोमबारबाट सुरु भएको प्रविधि कम्पनी एप्पलले आफ्नो विश्वव्यापी डेभलोपर्स कम्प्रेन्स (डब्ल्युडब्ल्युडिसि), को सुरुवातमा नै कम्पनीले संसारकै सबैभन्दा पातलो ल्यापटप सार्वजनिक गरेको छ ।
९ जुनसम्म चल्ने डब्ल्युडब्ल्युडिसिको २०२३ को संस्करण सोमबारबाट सुरु भएको हो । कार्यक्रमको सुरुवात कम्पनीका सिईओ टिम कुकले गरेका थिए । उक्त कार्यक्रममा कम्पनीले सबैभन्दा सुरुवातमा १५.३ इन्चको डिप्ले भएको म्याकबुक एयर सार्वजनिक गरेको छ । कम्पनीले दाबी गरेअनुसार ल्यापटपको क्षेत्रमा यो नै सबैभन्दा पातलो ल्यापटप रहेको छ । यसको मोटाई ११.५ मिलिमिटर रहेको बताइएको छ ।

म्याकबुक एयरलाई लिएर कम्पनीले सार्वजनिक गरेको मूल्य १ हजार २९९ अमेरिकी डलर रहेको छ । एम टु चिप, २४ जिबिसम्म फास्ट युनिफाइड मेमोरी र १८ घण्टाको ब्याट्री लाइफसहित नयाँ म्याकबुक एयरलाई सार्वजनिक गरिएको कम्पनीले दाबी गरेको छ । ३.५ मिलिमिटर हेडफोन ज्यान, म्यागसेफ चार्जिङलगायत रहेको नयाँ म्याकबुक एयरमा यसअघिकै म्याकबुक एयरका धेरै विशेषताहरु दोहोरिएका छन् ।

त्यस्तै कम्पनीले सोमबार नै मिक्स्ड रियलिटी हेटसेट ‘एप्पल भिजन प्रो’ पनि सार्वजनिक गरेको छ । यो कम्पनीको पहिलो एआर–भिआर हेडसेट हो । यो हेडसेट आँखाको रेटिना र हातहरुको चालको आधारमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले बताएअनुसार यो उपकरणको निर्माणका लागि विगत ७ वर्षदेखि काम भइरहेको थियो । यसमा दुई वटा ‘फो के’ रिजोलुसनका डिस्प्ले दिइएका छन् । कम्पनीका सिईओ टिम कुकले एप्पल भिजन प्रो एउटा नयाँ सुरुवात भएको बताएको छ । एप्पल भिजन प्रोको मूल्य भने ३ हजार ४९९ अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले आफ्नो सिलिकन बेस्ट म्याक प्रो पनि सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ६ हजार ९९९ अमेरिकी डलर राखेको छ । एम टु अल्ट्रा चिपसेटसहितको यो म्याक प्रो यसअघिका इन्टेलको चिप भएका म्याक प्रोको तुलनामा तीन गुणा छिटो चल्नेछ । यसमा १९२ जिबिको इन्टरनल मेमोरी रहेको छ ।

योसँगै कम्पनीले आफ्नो विभिन्न उपकरणहरुका अपरेटिङ सिस्टम आईओएस १७, आईप्याडओएस १७, म्याकओएस सोनामा र वाचओस १० का नयाँ विशेषताहरु पनि सार्वजनिक गरेको छ ।

एप्पलले वर्षेनी गर्ने डब्ल्युडब्ल्युडिसि कम्पनीको क्यालिफोर्नियास्थित क्यूपर्टिनो हेडक्वाटरमा हुनेगर्छ । आउने सफ्टवेयरको विषयदेखि नयाँ उपकरणहरुको सार्वजनिकी करणका लागि पनि एप्पलका प्रयोगकर्ताहरुले यो कार्यक्रमलाई पर्खिने गर्छन ।


क्लिकमान्डु