प्रधानमन्त्रीद्वारा इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्रको अवलोकन



इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको जानकारी दिए ।

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिए ।

सो केन्द्रले फोहरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका हुन् । इन्दोर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् ।

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत गएका थिए ।


क्लिकमान्डु