२० वर्षका लागि जग्गा भाडामा लिएर कल्पनाले थालिन् ड्रागन खेती, ७० लाख लगानी



तनहुँ । व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी हुन् ।

करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार रुपैयाँ भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन् । ‘गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ’, उनले भनिन् ।

कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख लगानी गरेको बताइन् । ‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु’ उनले भनिन् ।

फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब दश हजारका दरले खर्च भएको उनको भनाइ थियो ।

बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताए।

उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गरेका हुन् । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भनिन्, ‘फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु । केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुनः बिरुवामा परिणत गर्ने योजना बनाएको छु’ उनले भनिन् ।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी हुन् । उनले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छन् ।

उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिइन् ।


क्लिकमान्डु