भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्मको पेट्रोलियम पाइपलाइन शिलान्यास



काठमाडौं । झापा चारआली–सिलिगुडी पेट्रोलियम पाइप लाइन र टर्मिनल भवनको शिलान्यास गरिएको छ । भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइ भएको चारआली–सिलिगुडी पेट्रोलियम पाइप लाइन पाइपलाइनको उद्घाटन भएको हो ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा पाइपलाइनको शिलान्यास गरिएको हो ।

पाइप लाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । भण्डारण क्षमता वृद्धि गरिने छ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटरको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको छ।

चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् । जसमा तीनवटा अन्डरग्राउन्ड हुने छन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना निर्माण हुने छन् ।

भण्डारण निर्माणका लागि प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्तिका बारेमा काम भइरहेको नेपाल आयल निगमले जनाएको छ । साथै, गण्डकी प्रदेशमा भण्डारणको निर्माण कार्य सुरु भएको छ ।


क्लिकमान्डु