नेपालबाट बाहिरिनेको संख्या बढ्दै, फाल्गुनसम्म ७९ हजारले लिए विदेशमा पढ्ने अनुमति



काठमाडौं । देशमा दर्जनौं विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु हुँदा हुँदै पनि विदेश अध्ययन गर्न जानेहरुको संख्या निरन्तर बढ्दै गएको छ ।

आइतबार अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार हरेक वर्ष देशबाट हजारौंको संख्यामा विदेश अध्ययन गर्न जानेहरु रहेका छन् ।

विगत १० वर्षमा ५ लाख १३ हजार ६२ जना विद्यार्थीहरु नेपालबाट अन्य देशमा उच्च शिक्षा अध्ययनका लागि जान वैदेशिक अध्ययन अनुमति पत्र लिएको सर्वेक्षणमा देखाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ र आव २०७७/०७८ मा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुको संख्यामा केही कमी आएको थियो । कोरोना महामारीका कारण नेपालबाट विदेश पढ्न जानेको संख्यामा कमी आएको थियो । तर, आव २०७८/०७९ मा कोरोना महामारी थापिएसँगै पुनः विदेश पढ्न जानेको संख्या निरन्तर बढ्दै गएको छ ।

१० वर्षअघि आव २०७०/०७१ मा नेपालबाट जम्मा २८ हजार १२६ जनाले विदेशमा अध्ययन गर्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका थिए । तर, चालु आवको फाल्गुसम्ममा मात्रै त्यसको झण्डै तीन गुणाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

आव २०७९/०८० फागुनसम्मा ७९ हजार ४३७ जनाले वैदेशिक अध्ययनका लागि अनुमति लिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

देशको राजनीतिक अवस्था, प्रशासनिक झमेलाका साथै विश्वविद्यालयको लाचारीजस्ता कारणले नेपालमा अध्ययन गर्नुको सट्टा विदेशमा गएर अध्ययन गर्ने र उतै बसोबास गर्ने सोचसहित नेपालबाट बाहिरिने बिद्यार्थीहरुको संख्या बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाउँछ ।


क्लिकमान्डु