सहकारीले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्नुपर्छ: रजिस्ट्रार घिमिरे



काठमाडौँ । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरेका छन् ।

सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न उनले आग्रह गरेका हुन् ।

सहकारीको दायित्वको कानुनी ग्रहण नगरे वा सहकारीको सम्पत्ति बेचेर पैसा नतिरे कानुनी दायरमा ल्याउने घिमिरेले बताए ।

सहकारीले घरजग्गा र सेयरमा गरेको कारोबारले समस्या देखिएको र सञ्चालकले बदनियत रुपमा लगानी गरेको तथा आफन्तको नाममा कम्पनी खोलेर लगानी गर्दा समस्या देखिएको उनले बताए । यी सबै कुरा खुलाएर स्वेतपत्र जारी गर्न उनले सबै सहकारी संस्थालाई आग्रह गरे ।

घिमिरेले बचतकर्तालाई पनि स्वेतपत्र जारी गर्ने विषयमा संस्थाका सञ्चालकलाई सहयोग गर्न आग्रह गरेका छन् । सहकारीका सञ्चालकलाई पनि स्वेतपत्र जारी गर्न र बचतकर्ताबाट नभाग्न उनले सुझाव दिए ।

‘घरजग्गामा गरेको लगानीको वास्तविक स्वेतपत्र जारी गर्नु, जहाँ-जहाँ लगानी छ, त्यसको जानकारी गराउनु,’ सहकारी संस्थालाई उनले भने, ‘यति समयभित्र पैसा तिर्छु भनेर प्रतिबद्धता जनाउनु, यसका लागि विभागले सहजीकरण गर्नेछ ।’

उनले बचतकर्तालाई पनि डर र अविश्वास बोकेर पैसा माग्न जानुअघि संस्थाको वास्तविकता थाहा पाउन आग्रह गरे । सहकारीको समस्या समाधान गर्न सरकारले टास्क फोर्स गठन गरेको उनले जानकारी दिए ।

‘योजना आयोगको सदस्यको संयोजकत्वमा सहकारीको समस्या समाधान गर्न र सुझाव दिन कार्यदल बनेको छ । कार्यदलमा मन्त्रालय, विभागम सहकारी महासंघ राष्ट्र बैक, प्रहरीको सहभागिता छ,’  रजिस्ट्रार घिमिरेले भने, ‘अब त्यसले पनि काम सुरु गर्छ ।’


क्लिकमान्डु