इन्टरनेट जडानका लागि प्राधिकरण र ६६ जिल्लाका विद्यालयबीचको समझदारी कार्यान्वयनमा



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत स्थानीय तहहरुसँग गरेको समझदारी कार्यान्वयनमा ल्याएको छ ।

भूकम्पबाट अतिप्रभावित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा तथा काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत सम्बन्धित स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ‘ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तहमार्फत ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्‍याउनेसम्बन्धी कार्यविधि २०७८’ अनुसार उक्त कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको हो ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै कार्यविधिअनुसार सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रका सामुदायिक आधारभूतमा सेवा जडान खर्च र दुई वर्षसम्मको महसुल प्राधिकरणबाट लिन सक्ने जनाएको छ । स्थानीय तहहरुले सार्वजनिक खरिद नियमावलीअनुसार प्रतिस्पर्धात्मक रुपमा अनुमति प्राप्त सेवाप्रदायकलाई छनोट गरेर सेवा जडान गर्न सक्नेछन् ।

त्यस्तै, विद्यालय आफैंले सेवाप्रदायक छनोट गर्ने भएमा स्थानीय तहसँग समझदारी गरी प्रक्रियागत रुपमा इन्टरनेट जडान गर्न सक्ने पनि प्राधिकरणले सूचनामा जनाएको छ ।


क्लिकमान्डु