विदेशी मदिरा रोकेर लोकल रक्सी खुला गर्ने कानुन आवश्यक: ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बुधबार भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताए ।
प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने बताए ।
उनले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गरे । ट्रेड युनियनहरुकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो । उनले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्रीवितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
‘विदेशी मदिरालाई चट्ट परेर खाने, अनि लोकल मदिरालाई चाँही घरघरमा पुलिस गएर तोडफोड गर्ने होइन । लोकल मदिरालाई पनि गुणस्तर मापदण्ड चेकगरी खुलमखुला बेच्नु पर्छ । विदेशी मदिरा रोक्ने कानुन बनाउनुस् । तवमात्र देशको अर्थ व्यवस्था बलियो बन्छ’ उनले भने ।
प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जुडिबुटीको उत्पादन तथा विक्रीवितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिनु भयो ।