नक्कली भुटानी शरणार्थी प्रकरणमा लाज पनि लजाएको छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्युनिकरण हुने धारणा राखेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताए । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानून, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताए ।

थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताए । न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभुति पनि हुनुपर्ने बताए । प्रकरणका दोषि कोही पनि छुट्नु नहुने उनको भनाइ छ ।

‘अहिले जसरी आउन थालेको छ, एकप्रकारले लाज पनि लजाएको जस्तो भएको छ । को को परेको हो ? को को नपरेको हो ? सुन्दासुन्दै, बुझ्दै जाँदाखेरी हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने जस्तो लाग्न थालेको छ । तर यसमा सरकारको परीक्षा हेर्नुछ । परीक्षा छ । अनुसन्धान कसरी भइरहेको छ , सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् । चाहे त्यो सलामी लिने मान्छे होस् । जसलाई छोएको छ, जसको नाम आएको छ । त्यसको फेयर अनुसन्धान हुनुपर्छ’ थापाले भने, ‘ अनुसन्धान भएन । मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन । सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरे भनेर मात्र पुग्दैन । न्यायको अनुभुति हुनुपर्छ । यो राज्यबिरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् । चाहे त्यो नाता होस् । सलाम गर्ने होस् । सलामी लिने होस् । एकजना मान्छेपनि छुट्नु हुँदैन । दुधको दुध पानीको पानी हुनुपर्छ । आम नेपाली नागरिकले चाहेको कुरा यही हो ।’


क्लिकमान्डु