२०४६ साल पछाडि पदमा रहेकाहरुको सम्पत्ति छानबिनका लागि कानुन निर्माण गरियोस्: विष्ट



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बुधबार भाग लिँदै उनले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्तिहरु जफत हुने गरी उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन गर्नु पर्ने बताए ।

‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ । मैले सम्मानित सदन समक्ष राख्न चाहन्छु कि २०४६ साल पछाडि जति व्यक्तिहरु ओहोदामा आएका छन । जति उच्च पदमा आएका छन । ती सबै व्यक्तिहरुको छानविन गर्ने र स्रोत नदेखिने कर नतिरेको सम्पत्तिलाई जफत गर्नेगरी कानुन निर्माण गरियोस् । र, विशेष प्रकारको योजना बनाइयोस् । म यो प्रकारले आग्रह गर्न चाहन्छु’ उनले भने ।

सचिव विष्टले सरकारको नीति तथा कार्यक्रम मुलुकको गम्भीरतालाई महशुस गरेर नआएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । ‘यताबाट आऊ, उताबाट जाऊ’ भन्ने नेपाली उखान चरितार्थ हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको उनको जिकीर थियो । ‘यो नीति, कार्यक्रम कस्तो छ भने एउटा नेपालीमा उखान छ–यताबाट आऊ, उताबाट जाऊ । दाँतले चपाऊ तर केही पनि नखाऊ । यही प्रकारको अवस्थामा नीति, कार्यक्रम आएको छ । त्यसकारण आजका गम्भिरताहरुलाई महशुस गरेर नीति, कार्यक्रमलाई अझ नयाँ ढंगले परिमार्जन गर्ने हिसावले सोचौं’उनले भने ।


क्लिकमान्डु