खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने, योग गुरु रामदेव प्रमुख वक्ता



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकाले खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्ने भएको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जेठ २३ देखि २५ सम्म खप्तड राष्ट्रिय निकुञ्जमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको हबका रुपमा विकास गर्न सम्मेलन आयोजना गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सुदूरपश्चिम छ भन्ने सन्देश दिन यो सम्मेलन आयोजना गरेका हौं,´ उनले भने,हाम्रो प्रदेशमा कयौं सम्भावना छन् । हामीले पर्यटनलाई विशेष प्राथमिकता दिँदै काम गर्न खोजेका छौं । गत महिना हामीले मानसखण्ड सम्मेलन आयोजना गरेका थियौं । हामी सुदूरपश्चिमलाई पर्यटनको केन्द्र बनाउन लागेका छौं।´

मुख्यमन्त्री शाहले सिंगो सुदूरपश्चिम एक ठाउँमा उभिएर सम्मेलन आयोजना गर्न लागेको बताए । आध्यात्मिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै समग्र सुदूरपश्चिमलाई बलियो बनाउन सम्मेलन आयोजना गरिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा योग गुरु रामदेव विशिष्ट अतिथिको रूपमा सहभागी हुनेछन् । कार्यक्रममा आचार्य बालकृष्ण पनि सहभागी हुनेछन् ।

तीन दिन चल्ने सम्मेलनमा खप्तडको विकासको विषयमा प्यानल छलफल हुनुका साथै कार्यपत्र प्रस्तुत हुने खड्काले जानकारी दिए । सम्मेलनमा ५ सय जनाभन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ ।


क्लिकमान्डु